काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा पीडितको संरक्षण, दोषीलाई कारबाही र न्यायको सुनिश्चितता गर्न सबै पक्षसँग आग्रह गरेका छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसालाई मानव अधिकारको गम्भीर उल्लङ्घन र समतामूलक समाज निर्माणको बाधकका रूपमा रहेको बताएका हुन् ।
उनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको भन्दै पछिल्लो समय डिजिटल माध्यमबाट हुने हिंसा पनि चुनौतीका रूपमा थपिएको बताएका । सबै प्रकारका हिंसा रोक्न, पीडितलाई न्यायमा पहुँच दिलाउन र दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा उनको जोड छ।
प्रधानमन्त्री शाहका अनुसार सरकारले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढ गर्ने, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुनःस्थापनालाई प्राथमिकता दिएको छ। यसका लागि तीनै तहका सरकार, सामाजिक सङ्घसंस्था र नागरिकबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे ।
यसैगरी, भोटेकोशी क्षेत्रमा गएको बाढीजस्ता विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन पनि उनले आग्रह गरेका छन् ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यो अभियान यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित सुरु भएको हो।
संयुक्त राष्ट्रसङ्घले यस वर्ष महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य, न्याय सुनिश्चितता र पीडितको संरक्षणलाई अभियानको मुख्य विषय बनाएको छ।
प्रधानमन्त्री शाहले अभियानलाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था र आम नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् ।



प्रतिक्रिया