विचार

सतर्क कूटनीतिबीच नयाँ अध्यायतिर नेपाल र भारत सम्बन्ध

सतर्क कूटनीतिबीच नयाँ अध्यायतिर नेपाल र भारत सम्बन्ध

नेपाल-चीन सम्बन्धले कस्तो आकार लिन्छ भन्ने विषयलाई नयाँदिल्लीले नजिकबाट नियालिरहेको छ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको पहिलो औपचारिक भारत भ्रमणको पृष्ठभूमि केही असामान्य थियो । फागुन २१ गतेको निर्वाचनमार्फत सत्तामा उनको उदय नेपालमा भएको सबैभन्दा छोटो युवा विद्रोहको जगबाट सम्भव भएको थियो ।

चैत १३ गते प्रधानमन्त्री बनेको केही समयमै उनले भारतीय विदेश सचिव विक्रम मिस्रीसँग भेट्न अस्वीकार गरिदिएका थिए । वैशाख २६ देखि हुन लागेको मिस्रीको निर्धारित नेपाल भ्रमणसमेत स्थगित गर्नुपरेको घटनाले धेरैलाई आश्चर्यचकित बनाएको थियो । उनको कार्यशैलीले नेपाली प्रतिपक्षी दलहरूबाट मात्र होइन, आफ्नै पार्टीभित्रबाट पनि आलोचना खेप्दै आएका छन् । ठूला शक्तिराष्ट्रसामु नझुक्ने नेपाली नेताका रूपमा आफूलाई प्रस्तुत गर्न शाह चाहन्थे भन्ने देखिएको थियो ।

बालेन मधेसी समुदायका हुन् । यो समुदायको बिहार र उत्तर प्रदेशका केही क्षेत्रसँग सांस्कृतिक तथा भाषिक समानता छ । उनले भारतमै अध्ययनसमेत गरेका छन् । उनको यस्तो पृष्ठभूमिले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई आवश्यक राजनीतिक गति मिल्ने अपेक्षा जगाएको थियो । तर, भारतको अपेक्षाअनुसार आफू अत्यधिक उत्सुक भएर अघि बढेको आरोप लाग्न सक्ने घरेलु आलोचनाप्रति उनी थप सतर्क भएका हुन सक्छन् ।

यद्यपि, नेपालले केही कुशल कूटनीतिक पहलमार्फत परिस्थितिलाई सम्हाल्न सफल भएको छ । मिस्रीसँगको भेट अस्वीकार गरिएको घटनाबाट उत्पन्न असहजता कम गर्न बालेन आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जुन महिनामै भारत पठाइएको थियो । त्यसैगरी, नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेले पनि बहुपक्षीय बैठकमा सहभागी हुन भारत भ्रमण गरेका थिए ।

नेपालका परराष्ट्र सचिव अमृतबहादुर रायको निमन्त्रणामा भारतका विदेश सचिव मिस्रीले निमन्त्रणा स्वीकार गर्दै नोभेम्बर ४–५ मा नेपालको भ्रमण गरे । भारतीय सेनाका प्रमुख जनरल धीरज सेठले अगस्टमा नेपाल भ्रमण गरी प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गरे ।

जनरल सेठको भ्रमण विशेष अर्थपूर्ण थियो । पछिल्ला केही वर्षदेखि भारतको अग्निपथ कार्यक्रम नेपालका लागि पेचिलो विषय बनेको छ ।

कोभिड–१९ महामारीका कारण रोक्नुअघि भारतीय सेनाले ऐतिहासिक रूपमा नेपाली गोर्खा समुदायबाट सैनिक भर्ती गर्दै आएको थियो । महामारीको प्रभाव कम भएपछि भर्ती प्रक्रिया पुनः सुरू गर्ने बाटो खुलेको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीचको सम्बन्धलाई आत्मीय सम्बन्धका रूपमा व्याख्या गर्दै शाहको निर्वाचनले नेपाली युवाका आकांक्षा र आशालाई प्रतिबिम्बित गरेको बताएका थिए ।

तर, भारतले अग्निपथ भर्ती कार्यक्रम लागू गरेपछि नेपाली मन्त्रिपरिषद्ले त्यसअन्तर्गत गोर्खा भर्ती गर्न अनुमति नदिने निर्णय गर्‍यो । अस्थायी रोजगारीको मोडेल र पेन्सनको व्यवस्था नहुनुलाई यसको कारण बताइएको थियो ।

यससँगै मुख्य मुद्दाका रुपमा रहेको दुई देशबीच सीमा विवाद पनि कायमै छ । उत्तराखण्डस्थित कालापानी क्षेत्र (जसलाई नेपालले आफ्नो भूभाग दाबी गर्दै आएको छ) दुई देशबीच तनावको एउटा स्रोत बनेको छ । तर, यो त्यस्तो विषय हो जसमा शाहले आफ्नै देशभित्र तीव्र आलोचना खेप्नुपर्‍यो । उनले संसद्‍मा आफूले नेपालले केही स्थानमा भारतीय भूभाग अतिक्रमण गरिरहेको भन्ने जानकारी पाएको बताएका थिए ।

त्यसपछि नेपाली प्रतिपक्षी दलहरूले उनको अभिव्यक्तिले नेपालको भूभागसम्बन्धी दाबीलाई कमजोर बनाएको भन्दै कडा आलोचना गरेका थिए । यस्तो पृष्ठभूमिमा दुई देशले विद्यमान संयन्त्रअनुसार विदेश सचिवस्तरमा यो विषयमा छलफल गर्ने निर्णय गर्नु विवेकपूर्ण देखिन्छ ।

नोभेम्बर २२–२३ मा भएको शाहको औपचारिक भारत भ्रमणले दुई देशबीचको सम्बन्धबारे भइरहेका विभिन्न अड्कलबाजीलाई केही हदसम्म अन्त्य गरेको छ र काठमाण्डुसँग सम्बन्ध पुनः सुमधुर बनाउने विषयमा चर्चा सुरू भएको छ ।

३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शाह नयाँदिल्ली पुगेका थिए । उनले प्रधानमन्त्री बनेको एक वर्षसम्म कुनै पनि विदेशी मुलुकको भ्रमण नगर्ने बचन पनि दिल्ली पुगेर तोडे ।

बनबासामा ल्यान्ड कस्टम स्टेसन स्थापनाले दुवैतर्फको सीमावर्ती अर्थतन्त्रलाई सहयोग पुर्‍याउनेछ ।

तर, नयाँदिल्लीको निमन्त्रणा स्वीकार गरी भारत भ्रमण गरेर उनले आफ्नो पूर्वअडानबाट पछि हटे । यस परिवर्तनका पछाडि विभिन्न कारणले प्रभाव पारेको हुन सक्छ ।

पछिल्लो समय भारतको सहयोगी पहलले नेपाललाई आपत्कालीन अवस्थामा भारत साथमा रहेको पुनः अनुभूति गराएको छ । विपद् राहतदेखि पेट्रोलियम पदार्थ र विद्युत् आपूर्तिसम्मका सहयोगले दुई देशबीचको सम्बन्धलाई थप उजागर गरेको छ । यसले खुला सीमा र दुई देशका सेनाबीचको सुदृढ सम्बन्धबाट प्रतिबिम्बित ऐतिहासिक सम्बन्धलाई पनि थप बलियो बनाएको छ ।

एक देशका बहालवाला प्रधानसेनापतिले अर्को देशको सेनामा मानार्थ जनरलको पदवी पाउने परम्परा पनि यस सम्बन्धको एउटा उदाहरण हो । प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीचको सम्बन्धलाई आत्मीय सम्बन्धका रूपमा व्याख्या गर्दै शाहको निर्वाचनले नेपाली युवाका आकांक्षा र आशालाई प्रतिबिम्बित गरेको बताएका थिए ।

दुवै प्रधानमन्त्रीका सम्बोधनमा विशेषगरी युवासहित जनतालाई केन्द्रमा राखिएको विषय अस्वाभाविक होइन । शाहले नेपालमा आईआईटी कानपुर स्थापना गर्ने विषयमा जोड दिएका थिए ।

मोदीले पनि भारतको आईआईटीको अफसोर क्याम्पसका साथै स्टार्टअप इन्क्युबेटर र नवप्रवर्तन केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए । पूर्वाधार र कनेक्टिभिटी पनि भ्रमणका क्रममा भएका घोषणाका प्रमुख विषयका रूपमा देखिए । यसमा ऊर्जा सम्बन्धलाई विशेष प्राथमिकता दिइएको थियो ।

इरान युद्धको सबैभन्दा कठिन चरणमा, जब बजारमा मूल्य अत्यधिक बढेको थियो, भारतले नेपाललाई इन्धन, मल र अत्यावश्यक वस्तुको आपूर्ति बढाएको थियो । यस सन्दर्भमा मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण तथा झापामा नयाँ पेट्रोलियम भण्डारण र वितरण टर्मिनल निर्माणसम्बन्धी घोषणा महत्त्वपूर्ण छन् ।

बाढी र पहिरोका कारण नेपालको जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको अवस्थामा ९०० मेगावाटको अरुण तेस्रो र ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनालाई अघि बढाउने निर्णय पनि ऊर्जा सहकार्यको महत्त्वपूर्ण आधार हो ।

पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रलाई गति दिने उद्देश्यले लुम्बिनी र बोधगयालाई जोड्ने सरयू-कमला एक्सप्रेस रेलको घोषणा गरिएको छ ।

सीमावर्ती क्षेत्रको पूर्वाधार आवश्यकतालाई ध्यानमा राख्दै उत्तराखण्ड र नेपालबीच धार्चुला सडक पुल निर्माणको घोषणा महत्त्वपूर्ण छ । बनबासामा ल्यान्ड कस्टम स्टेसन स्थापनाले दुवैतर्फको सीमावर्ती अर्थतन्त्रलाई सहयोग पुर्‍याउनेछ ।

नयाँदिल्लीले विनाशकारी बाढीपछि नेपालको पुनर्निर्माण कार्यमा सहयोग पुर्‍याउन १.६ अर्ब अमेरिकी डलर बराबरको विकास सहायता घोषणा गरेको छ । विशेष महत्त्वको अर्को पक्ष के छ भने शाहको पहिलो भारत भ्रमणकै समयमा रास्वपाका २० सदस्यीय प्रतिनिधिमण्डलले चीनको दुई साताको भ्रमण गरिरहेको छ ।

शाहले उक्त प्रतिनिधिमण्डललाई नेपालको हित अनुकूल हुने गरी ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ सम्बन्धी विषय उठाउन निर्देशन दिएको समाचार सार्वजनिक भएको छ । शाहको आफ्नै चीन भ्रमण पनि छिट्टै हुन सक्ने सम्भावना छ ।

नेपालको प्रयास चीनलाई रोकिएका बीआरआई परियोजना पुनः सुरु गर्न सहमत गराउनु हुनेछ । यसमा बेइजिङले कस्तो प्रतिक्रिया दिन्छ, त्यो भने हेर्न बाँकी छ । नेपाल–चीन सम्बन्धले कस्तो आकार लिन्छ भन्ने विषयलाई नयाँदिल्लीले नजिकबाट नियाल्नेछ ।

अहिलेका लागि चुनौतीपूर्ण समयपछि नेपाल र भारत सतर्कतापूर्वक अघि बढिरहेका छन् । आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई भारतीय र नेपाली राष्ट्रिय हितले नै मार्गनिर्देश गर्ने सम्भावना छ ।

लेखक पटनायक नयाँ दिल्लीस्थित मनोहर पर्रिकर इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसअन्तर्गत दक्षिण एसिया केन्द्रकी अनुसन्धानकर्ता तथा संयोजक हुन् । उनको यो आलेख हिन्दुस्तान टाइम्समा प्रकाशित छ ।