निर्वाचन आयोगले कांग्रेसलाई अद्यावधिक गरेको पत्र सानेपामा पुर्‍यायो

निर्वाचन आयोगले कांग्रेसलाई अद्यावधिक गरेको पत्र सानेपामा पुर्‍यायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति र संशोधित विधान अद्यावधिक गरेको छ।

आयोगले मंगलबार कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय गरेको जानकारीसहितको पत्र बुधबार कांग्रेसलाई पठाएको हो।

सभापति थापाले बुधबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा आयोगको पत्र प्राप्त भएको जानकारी गराएका छन्।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औँ महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए। महाधिवेशनले २० जना पदाधिकारीसहित २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो।

नयाँ कार्यसमिति र संशोधित विधान अद्यावधिक गराउन कांग्रेसका महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले गत कात्तिक १६ गते निर्वाचन आयोगमा निवेदन दिएको थियो।

टोलीले महाधिवेशनबाट पारित विधान संशोधन, राजनीतिक तथा समसामयिक दस्तावेज र अन्य आवश्यक कागजात आयोगमा बुझाएको थियो।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले आफ्नो पदाधिकारी वा कार्यसमितिमा परिवर्तन गरेमा त्यसको जानकारी निर्वाचन आयोगलाई गराउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आयोगले दल दर्ता किताबमा नयाँ नेतृत्व र विधानसम्बन्धी विवरण अद्यावधिक गरेको हो।

देउवा पक्षसँगको विवादकै बीच निर्णय

कांग्रेसभित्रको नेतृत्व विवाद विशेष महाधिवेशनपछि उत्कर्षमा पुगेको थियो। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले त्यसलाई चुनौती दिँदै निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि परेको रिटमा सर्वोच्च अदालतले गत वैशाख ४ गते आयोगको निर्णय सदर गर्दै निवेदन खारेज गरेको थियो।

तर देउवा र खड्का पक्षले उक्त फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिएका थिए। सर्वोच्च अदालतमा पुनरावलोकनसम्बन्धी प्रक्रिया अझै विचाराधीन रहेको छ।

यसैबीच देउवा पक्षले आफूहरू नै पार्टीको आधिकारिक नेतृत्व भएको दाबी गर्दै छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ। विभिन्न जिल्लामा संगठनात्मक गतिविधि र अधिवेशनसमेत सञ्चालन गर्दै आएको उक्त पक्षले मंसिर २१ देखि २३ गतेसम्म अर्को महाधिवेशन गर्ने तयारी गरेको छ।

यस्तो अवस्थामा निर्वाचन आयोगले गगन थापा नेतृत्वको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र संशोधित विधान अद्यावधिक गर्ने निर्णय गरेको हो। यसले आयोगको अभिलेखमा थापा नेतृत्वको नयाँ कार्यसमितिको विवरणलाई औपचारिक रूपमा निरन्तरता दिएको छ। यद्यपि, सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको प्रक्रियाको अन्तिम टुंगो लाग्न अझै बाँकी छ।