खगेन्द्र सुनारविरुद्धको मुद्दामा हराएको भनिएको अडियो बुझाएको प्रमाण पेस गर्न आदेश

खगेन्द्र सुनारविरुद्धको मुद्दामा हराएको भनिएको अडियो बुझाएको प्रमाण पेस गर्न आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई अर्को आपत् आइलागेको छ।

एकजना महिलालाई अश्लील शब्दसहित गालीगलौज गरेको अडियो प्रकरणपछि पार्टीको निर्देशनमा भूमिगत जस्तै रहेका खगेन्द्रविरुद्धको विद्युतीय कारोबारसम्बन्धी मुद्दामा जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रमाण बुझाएको कागज पेस गर्न आदेश दिएको छ।

न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले बुधबार निवेदक मनिषा गौतमले पेस गरेको प्रमाणका सम्बन्धमा सुनारलाई जानकारी गराई त्यससम्बन्धी कागज अदालतमा पेस गर्न आदेश दिएको हो। अदालतले उक्त मुद्दालाई नियमानुसार पेस गर्न पनि भनेको छ।

यो आदेश अदालतमा पेस गरिएको भनिएको तीन घण्टा लामो अडियो प्रमाण हराएको विवादसँग सम्बन्धित छ। अधिवक्तासमेत रहेकी गौतमले सुनारविरुद्धको मुद्दामा विभिन्न कागजातसँगै करिब तीन घण्टाको अडियो रहेको पेनड्राइभ प्रमाणका रूपमा बुझाएकी थिइन्।

तर, गत असोज दोस्रो साता अदालतका कर्मचारीले उक्त पेनड्राइभमा तीन मिनेटको मात्रै अडियो रहेको जानकारी दिएपछि गौतमले प्रमाण गायब पारिएको आशंका व्यक्त गरेकी थिइन्।

उनले अदालतका कर्मचारीको मिलेमतोमा प्रमाण हटाइएको हुन सक्ने दाबी गर्दै छानबिनको मागसमेत गरेकी थिइन्।

त्यसपछि गौतमले पुनः निवेदनसहित अडियो प्रमाण पेस गरेकी थिइन्। पछिल्लो आदेशले उक्त प्रमाण र त्यसको अभिलेखसम्बन्धी विषयलाई फेरि अदालतको प्रक्रियामा ल्याएको छ। यद्यपि, प्रमाण कसरी अपूर्ण भयो वा कसैले हटाएको हो भन्ने विषयमा अदालतबाट कुनै निष्कर्ष आइसकेको छैन।

के हो मुद्दा?

अधिवक्ता मनिषा गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई गालीगलौज तथा अपमानजनक अभिव्यक्ति दिइएको भन्दै सुनारविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा काभ्रेपलाञ्चोक जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

मुद्दामा फरार प्रतिवादीका रूपमा रहेका सुनार २०८२ कात्तिक १३ गते अदालतमा उपस्थित भएका थिए।

बयान र थुनछेक बहसपछि तत्कालीन न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले उनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। धरौटीमा रिहा भए पनि मुद्दाको अन्तिम फैसला भइसकेको छैन।

यस मुद्दामा अडियो प्रमाणको अवधि र अभिलेखको अवस्थाबारे उठेको विवादले अदालतमा पेस गरिएका प्रमाणको सुरक्षित अभिलेखीकरण र व्यवस्थापनमाथि पनि प्रश्न उठाएको छ। पछिल्लो आदेशपछि प्रमाण बुझाइएको अभिलेख र त्यसको अवस्थाबारे थप स्पष्टता आउने अपेक्षा छ।