दानबहादुर कार्कीको रिट सात दिनभित्र सुनुवाइ गर्न सर्वोच्चको आदेश, पेसी हटाउन नपाइने

दानबहादुर कार्कीको रिट सात दिनभित्र सुनुवाइ गर्न सर्वोच्चको आदेश, पेसी हटाउन नपाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

तर, मुद्दाको संवेदनशीलता र सार्वजनिक महत्वलाई ध्यानमा राख्दै लिखित जवाफ प्राप्त भएपछि वा त्यसको म्याद सकिएपछि सात दिनभित्रै सुनुवाइमा चढाउन आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार यस्तो आदेश दिएको हो। कार्कीले आफ्नो पदबाट हटाउने सरकारको निर्णय कार्यान्वयन रोक्न माग गर्दै अन्तरिम आदेशसमेत माग गरेका थिए।

अदालतले मनोजकुमार केसी नेपाल सरकारको गत कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षकमा बढुवा भई सोही दिन नियुक्ति बुझेर कार्यभार सम्हालिसकेको अवस्थालाई आदेशमा उल्लेख गरेको छ।

सर्वोच्चले व्याख्या गरेका तीन कुरा
१. मनोजकुमार केसीले आईजीपीको कार्यभार सम्हालिसकेको अवस्थालाई ध्यानमा राखेर तत्काल अन्तरिम आदेश आवश्यक नदेखिएको।
२. प्रहरी संगठनको नेतृत्व र ‘चेन अफ कमान्ड’ सार्वजनिक महत्वको संवेदनशील विषय भएकाले शीघ्र निर्णय आवश्यक रहेको।
३. लिखित जवाफ आएपछि वा त्यसको म्याद सकिएपछि सात दिनभित्र सुनुवाइमा चढाउनुपर्ने।

सर्वोच्चले प्रस्तुत विवाद प्रहरी संगठनको नेतृत्वसँग सम्बन्धित सार्वजनिक महत्वको संवेदनशील विषय भएको ठहर गरेको छ। निवेदकले माग गरेको न्यायिक उपचार र अन्तरिम आदेशसँग सम्बन्धित कानुनी प्रश्नहरू रिटको अन्तिम सुनुवाइका क्रममा निरूपण गर्नुपर्ने प्रकृतिका देखिएको अदालतको भनाइ छ।

आदेशमा भनिएको छ, ‘रिट निवेदकले माग गरेको न्यायिक उपचार र उठाएका अन्तरिम आदेशको मागसँग अन्तरनिहित कानुनी प्रश्नहरूको रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा निरूपण र सम्बोधन हुने प्रकृतिको देखिँदा सुविधा सन्तुलनको दृष्टिसमेतबाट निवेदन मागबमोजिम हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन।’

तर, अदालतले मुद्दालाई लामो समयसम्म अनिर्णित राख्न नहुने निष्कर्ष निकालेको छ। प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली अर्थात् ‘चेन अफ कमान्ड’ सँग जोडिएको विषय भएकाले यसको छिटो सुनुवाइ र निर्णय आवश्यक रहेको आदेशमा उल्लेख छ।

आदेशमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदन राज्यको शान्ति सुरक्षा र प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमान्ड) सँग सम्बन्धित भई रिट निवेदनमा उठाइएका विषयवस्तुको महत्व, गम्भीरता र संवेदनशीलतातर्फ दृष्टि गर्दा छिटो सुनुवाइ र निर्णय हुन वाञ्छनीय देखिएको छ।’

त्यसैले विपक्षीबाट लिखित जवाफ प्राप्त भएपछि वा जवाफ पेस गर्ने अवधि समाप्त भएपछि सात दिनभित्रै पेसी चढाउन सर्वोच्चले आदेश दिएको छ। यसका साथै, पेसी हटाउन नपाउने पूर्वसूचना दुवै पक्षलाई दिनसमेत भनिएको छ।

के हो विवाद?

सरकारले गत कात्तिक १८ गते दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। त्यसपछि सरकारले मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।

सरकारको निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा उत्प्रेषणको रिट दायर गर्दै आफूलाई पदबाट हटाउने निर्णय बदर गर्न माग गरेका छन्। उनले सरकारको निर्णय कानुनविपरीत भएको जिकिर गर्दै पदमा निरन्तरता र न्यायिक उपचारको माग गरेका छन्।

यसअघि सर्वोच्चमा भएको सुनुवाइका क्रममा सरकारी पक्षबाट बहस गर्दै महान्यायाधिवक्ता नारायणदत्त कँडेलले कार्कीलाई कारबाही नभई थप महत्त्वपूर्ण जिम्मेवारी दिइएको दाबी गरेका थिए। ‘उहाँ त मुद्दा लिएर होइन, लड्डु लिएर आउनुपर्ने हो,’ कँडेलको जिकिर थियो।

सर्वोच्चको पछिल्लो आदेशले तत्कालका लागि नयाँ आईजीपी मनोजकुमार केसीको नियुक्ति र कार्यभारलाई रोक्ने अवस्था सिर्जना गरेको छैन। तर, सरकारको निर्णयको वैधानिकता र कार्कीले उठाएका कानुनी प्रश्नको अन्तिम निरूपण भने अब छिटो सुनुवाइमार्फत हुने भएको छ।