चितवन– भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले नारायणी नदीमाथि बन्न लागेको सिग्नेचर पुलको ठेक्का प्रक्रिया खारेज गर्ने चेतावनी दिएका छन् ।
मन्त्री लम्साल शनिबार पुल निर्माणको अनुगमनका लागि गएका थिए । अनुगमनपछि उनले कामको गति निराशाजनक रहेको भन्दै ठेक्का तोड्ने चेतावनी दिएका हुन् ।
पुल निर्माणको भौतिक प्रगति सम्झौतामा उल्लेख भएभन्दा निकै कम रहेको उनले बताए ।
लम्सालले पुल निर्माणको ठेक्का पाएको तुन्दी अन्यत्र पनि काम नगरेर आयोजना अलपत्र पारेको भन्दै आक्रोश पोखे ।
‘यो ठेकेदारले देशभरिका प्रोजेक्ट यस्तै बनाएर राखेको छ, एक सर्टमा सबै टर्मिनेट गरिदिने हो,’ मन्त्री लम्सालले भने ।
अर्कोपटक आउँदा तालिकाअनुसार काम नभए ठेक्का तोड्न कर्मचारीलाई निर्देशन दिए ।
मन्त्री लम्सालले यसअघि समयमै काम नगर्ने ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्ति दिएका थिए । उनको उक्त अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो ।
चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी तुन्दीले १९ जेठ २०८० मा एक अर्ब ६८ करोड ७६ लाखमा उक्त ठेक्का लिएको थियो ।
ठेक्का अवधि सकिन अब ६ महिना मात्र बाँकी छ । पुल निर्माणको काम बाढीका कारण रोकिएको दाबी तुन्दी कन्स्ट्रक्सनको छ ।


प्रतिक्रिया