एजेन्सी– ६७ जनाको ज्यान जाने गरी भएको हवाई दुर्घटनाको स्मृति सेलाउन नपाउँदै अमेरिकाको वासिङ्टनस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अर्को अप्रिय घटना भएको छ ।
उडानको तयारीमा रहेका अमेरिकन एयरलाइन्सका यात्रुले खचाखच दुई विमान आपसमा ठोक्किएका छन् ।
शुक्रबार साँझ भएको उक्त दुर्घटनामा विमानका पखेटाका टुप्पा आपसमा जुधेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनाबाट कुनै मानवीय क्षति भने हुन पाएन ।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले दिएको विवरणअनुसार डलास–फोर्ट वर्थ जान लागेको अमेरिकन एयरलाइन्सको फ्लाइट ६३८ र सिकागोका लागि तयारी अवस्थामा रहेको फ्लाइट २१५२ को विमान आपसमा ठक्कर खाएका थिए ।
दुवै विमान बोइङ ७३७ रहेको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
स्थानीय समयअनुसार साँझ ५ बजेर १० मिनेट जाँदा धावनमार्गतर्फ अघि बढिरहेका बेला फ्लाइट ६३८ को पखेटा अर्को विमानको पखेटामा ठोक्किएको थियो ।
फ्लाइट २१५२ का एक यात्रुले ठक्करको क्षणमा विमानभित्र ठूलो धक्का महसुस भएको बताएका छन् ।
विमान एक्कासि हल्लिएपछि यात्रुहरूमा त्रास फैलिएको र बाहिर हेर्दा पखेटाको टुप्पो भुइँमा खसेको देखिएको उनले बताए ।
घटनापछि दुवै विमानलाई तत्काल पार्किङ क्षेत्रमा फर्काइएको थियो । दुवै विमानको उडान रोकिएको अधिकारीहरुले बताएका छन् ।
अमेरिकन एयरलाइन्सले प्राविधिक परीक्षण पूरा नभएसम्म दुवै विमानलाई उडानमा प्रयोग नगर्ने जनाएको छ ।
यात्रुहरूलाई विमानबाट सुरक्षित रूपमा बाहिर निकालेर अर्को व्यवस्थामार्फत गन्तव्यमा पठाइएको छ ।
रोनाल्ड रेगन विमानस्थलमा भएको यो घटना सन् २०२५ जनवरीको भीषण हवाई दुर्घटनापछिको अर्को सुरक्षा चासोका रूपमा हेरिएको छ ।
यसअघि रोनाल्ड रेगन विमानस्थलमा सन् २०२५ को जनवरीमा भीषण हवाई दुर्घटना भएको थियो ।
त्यसबेला अमेरिकन एयरलाइन्सकै एउटा यात्रुवाहक विमान र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर आकाशमा ठोक्किएका थिए ।
दुर्घटनामा विमानका ६४ यात्रु र हेलिकप्टरका तीन सैनिक गरी ६७ जनाको मृत्यु भएको थियो ।
उक्त दुर्घटनापछि विमानस्थल आसपास सैन्य हेलिकप्टरका परीक्षण उडान रोकिएका थिए । तर अमेरिकी सेनाले यही साता पुनः परीक्षण उडान सुरु गर्ने योजना बनाएको बीबीसीले उल्लेख गरेको छ ।
पछिल्लो घटनाको कारण र जिम्मेवारीबारे एफएएले अनुसन्धान अघि बढाउने जनाएको छ ।


प्रतिक्रिया