स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य

स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तानसेन – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेवा अझ प्रभावकारी बन्ने बताएका छन् ।

तानसेन नगरपालिकाको आयोजना र एसिया फाउण्डेशनको सहयोगमा शनिबारदेखि तानसेनमा सुरु भएको अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रममा उनले स्थानीय तहबीच अनुभव आदानप्रदान र सिकाइको संस्कृति विकास गर्नुपर्नेमा जोड दिए ।

विभिन्न पालिकाले आफ्नो क्षेत्रमा हासिल गरेका उपलब्धि र अपनाएका सफल कार्यशैली अन्य पालिकाले पनि अवलम्बन गर्न सके विकास र सुशासनमा सकारात्मक परिणाम हासिल हुने उनको भनाइ थियो ।

मुख्यमन्त्री आचार्यले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सहकार्य प्रभावकारी नभएसम्म नागरिकले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्न कठिन हुने बताए । स्थानीय सरकार सबलीकरण कार्यक्रमअन्तर्गत आयोजित अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रममा दमक, मिथिला, भीमेश्वर, वालिङ, गल्याङ, तानसेन, टीकापुर र भजनी नगरपालिकाका प्रतिनिधि सहभागी छन् ।

भोलिसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न पालिकाका असल अभ्यास, अनुभव, उपलब्धि तथा स्थानीय सरकारबीचको सहकार्यका विषयमा छलफल भइरहेको छ ।