घोप्टेभीरको सडक खुल्यो, तुइनखोलामा दैनिक ५ घण्टा बन्द हुने

घोप्टेभीरको सडक खुल्यो, तुइनखोलामा दैनिक ५ घण्टा बन्द हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभीरमा शनिबार साँझ ५ बजेदेखि सडक पूर्णरूपमा सञ्चालनमा आएको छ ।

गत मंसिर ५ गतेदेखि शनिबारसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो । पहिरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा सडक सम्याउने काम गरिएसँगै सडक सहज भएको हो ।

पहिरो प्रभावित घोप्टेभिरमा सडक व्यवस्थापन तथा यातायात आवागमन सहज बनाउन प्रहरी टोली अहिले पनि निरन्तर खटिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले प्रहरी टोली सवारी आवागमन व्यवस्थापन, यात्रुको सुरक्षा तथा सम्भावित जोखिम न्यूनीकरणमा सक्रिय रहेको बताए ।

घोप्टेभीरमा सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्गको मुग्लिन–पोखरा तथा मुग्लिन–काठमाण्डु सडकखण्ड पूर्णरूपमा सञ्चालनमा आएका छन् ।

यसैबिच पृथ्वी राजमार्ग सञ्चालनमा आए पनि नारायणगढ–मुग्लिन सडकखण्ड भने मंसिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द हुने भएको छ ।

सडकखण्डको तुइनखोलामा पहिरो काट्ने तथा जोखिमयुक्त भाग हटाउने काम गर्नुपर्ने भएकाले सवारी आवागमन रोकेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

सडक बन्द हुँदा दिउँसोको समयमा चितवनबाट काठमाण्डु तथा पोखरा आवतजावत गर्ने यात्रु प्रभावित हुने भएका छन् ।