काठमाण्डु – नेपाली कांग्रेसले देशका ७५३ वटै पालिकामा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ अन्तर्गत खटिने प्रतिनिधिहरूका लागि भोलि आईतबार अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।
पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा आयोजना हुने कार्यक्रममा अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी र कार्यदिशाबारे अभिमुखीकरण गरिने नेपाली कांग्रेसले जनाएको छ ।
मंसिर १३ गते आईतबार बिहान ११ बजे ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा कार्यक्रम सञ्चालन हुनेछ । काठमाण्डु उपत्यकामा उपलब्ध रहेका अभियानका सम्पूर्ण प्रतिनिधिहरूलाई कार्यक्रममा अनिवार्य उपस्थित हुन पार्टीले अनुरोध गरेको छ ।
काठमाण्डु उपत्यकाबाहिर रहेका प्रतिनिधिहरूका लागि भने जुममार्फत भर्चुअल रूपमा सहभागी हुने व्यवस्था मिलाइएको छ । सम्बन्धित प्रतिनिधिहरूलाई जुम बैठकको लिंक मोबाइलको मेसेज बक्समा पठाइने र लिंकमार्फत निर्धारित समयमा कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ ।
नेपाली कांग्रेसका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शनिबार जारी गरेको सूचनामा अभियानअन्तर्गत खटिने प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रममा अनिवार्य सहभागी हुन आग्रह गरिएको छ ।



प्रतिक्रिया