ललितपुरको क्रसर प्रकरणमा उदय शमशेरमाथि रिटायर्ड एसपीको गम्भीर आरोप

ललितपुरको क्रसर प्रकरणमा उदय शमशेरमाथि रिटायर्ड एसपीको गम्भीर आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर –ललितपुरको गोदावरी र भट्टेडाँडा आसपासका क्षेत्रमा क्रसर उद्योग सञ्चालन तथा तिनको वैधानिकतासम्बन्धी विवादलाई लिएर नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक (एसपी) आभूषण तिमल्सिनाले वर्षौँ पुरानो घटना सार्वजनिक गरेका छन्।

उनले ललितपुरमा कार्यरत रहँदा ५० भन्दा बढी अवैध क्रसर उद्योग बन्द गराएको बताउँदै त्यसक्रममा तत्कालीन अर्थ राज्यमन्त्री उदयशमशेर राणाले नै क्रसर खोल्न दबाब दिएको खुलासा गरेका हुन्।

तिमल्सिनाले महानगरीय प्रहरी वृत्त चापागाउँको प्रमुख अर्थात् प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँदा ललितपुरमा ठूलो संख्यामा अवैध क्रसर उद्योग सञ्चालनमा रहेका दाबी गरे। उनले ती क्रसर बन्द गराएपछि राजनीतिक तहबाट दबाब आएको खुलाएका छन् ।

उनले लेखेका छन्, ‘ललितपुरको चापागाउँमा डीएसपीको जिम्मेवारीमा थिएँ। ललितपुरमा लगभग ५० माथि अवैध क्रसर थिए। अवैध क्रसर बन्द गरेको अवस्थामा एकाबिहानै उदयशमशेर राणा (तत्कालीन अर्थ राज्यमन्त्री) ले फोन गरे।’

आफू त्यतिबेला ललितपुरको भट्टेडाँडानजिक रहँदा राणाले फोन गरेर क्रसर उद्योग खोलिदिन आग्रह गरेका बताएका छन्।

‘उनले मलाई भने, क्रसर खोलिदिनुपर्‍यो यार। मैले भनेँ, तिमी राज्यमन्त्री छौ, क्याबिनेटको निर्णयबाट सबै सामान्य बनाऊ। उदयशमशेरले भने, त्यसो भए त मलाई पैसा आउँदैन,’ तिमल्सिनाले लेखेका छन्।

राज्यमन्त्रीको यस्तो जवाफपछि आफूले पनि स्पष्ट जवाफ दिएको उनको भनाइ छ। ‘मैले भनेँ, तिमीलाई पैसा कमाउन मैले काम गरेको होइन। अनि त्यही दिन साँझ मेरो सरुवा भयो,’ उनले भनेका छन्।

तिमल्सिनाको यो अभिव्यक्तिले ललितपुरमा अवैध क्रसर उद्योग सञ्चालन, त्यसमा हुने राजनीतिक संरक्षण र प्रहरी प्रशासनमाथि पर्ने दबाबको पुरानो प्रसंगलाई फेरि सतहमा ल्याएको छ।

विशेषगरी गोदावरी, भट्टेडाँडा तथा आसपासका क्षेत्रमा क्रसर उद्योग र त्यसबाट उत्पन्न वातावरणीय तथा स्थानीय विवाद फेरि चर्चामा आइरहेका बेला उनको भनाइलाई अर्थपूर्ण मानिएको छ ।

राजनीतिक दबाबमा सरुवा भएको दाबी

तिमल्सिनाको प्रहरी सेवाको विगत पनि विवादास्पद र चर्चित घटनासँग जोडिएको छ। उनी प्रहरी संगठनभित्र राजनीतिक दबाबभन्दा बाहिर रहेर काम गर्ने अधिकृतका रूपमा चिनिन्थे।

तर, राजनीतिक तथा आर्थिक स्वार्थसँग जोडिएका समूहविरुद्ध काम गर्दा आफूले पटक(पटक संगठनभित्रै असहज परिस्थिति सामना गर्नुपरेको उनको दाबी छ।

चापागाउँ वृत्तको प्रमुख हुँदा तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्दले उनलाई तीन महिनामै महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा तानेका थिए।

क्रसरलगायतका विषयमा प्रभावशाली समूहको स्वार्थविपरीत काम गरेका कारण आफूलाई जिम्मेवारीबाट हटाइएको उनको भनाइ छ।

त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखका रूपमा पनि कार्यरत रहे। त्यहाँ पनि क्रसरलगायतका विषयमा प्रभावशाली समूहसँग टकराव भएको र तीन महिनामै जिम्मेवारीबाट हटाइएका थिए ।प्रहरी संगठनभित्र इमानदार र कार्यक्षमताका आधारमा परिचित तिमल्सिनाले २०८० वैशाखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदको बढुवा सिफारिसमा आफू अन्यायमा परेको भन्दै राजीनामा दिएका थिए। गृह मन्त्रालयबाट राजीनामा स्वीकृत भएपछि उनी प्रहरी सेवाबाट बाहिरिएका थिए।

अवकाशपछि उनले सुशासन, राजनीतिक भ्रष्टाचार, प्रहरी प्रशासनमा हुने हस्तक्षेप र कानुनी राज्यको विषयमा लेख्दै आएका छन्। उनले आगामी निर्वाचनमा भ्रष्टाचार, बिचौलिया र राजनीतिक संरक्षणमा हुने गैरकानुनी गतिविधिविरुद्ध नागरिकलाई सचेत गराउने अभियान सञ्चालन गर्ने घोषणा पनि गरेका छन्।