काठमाण्डु– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले यही मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। यता, गगन थापा नेतृत्वको कांग्रेसले १५औँ महाधिवेशनका क्रममा पार्टीको चुनाव चिह्न र झन्डा प्रयोग नगर्न आग्रह गरेको छ।
देउवा पक्षले महाधिवेशनका गतिविधि अगाडि बढाइरहँदा पार्टीका पदाधिकारीको सङ्ख्या बढाउने विषयमा पनि छलफल तीव्र बनाएको छ। पदाधिकारीको सङ्ख्या थप्ने विषयमा रमेश लेखकसहितका नेताहरूले गृहकार्य अगाडि बढाएका छन्। कांग्रेस स्रोतका अनुसार देउवाकै निर्देशनमा लेखकसहित केही नेताहरूले यसबारे गृहकार्य गरिरहेका छन्।
विधान संशोधनको विषयमा नेता एनपी साउदलगायतले पनि लेखकलाई साथ दिएका छन्। यसै विषयमा देउवाले रमेश लेखक, प्रकाशशरण महत, एनपी साउदलगायतका नेताहरूलाई छलफलका लागि बोलाएका थिए। उनीहरूबीच निरन्तर संवाद भइरहेको स्रोतको दाबी छ।
देउवा समूहले चार जना महामन्त्री राख्ने विषयमा पनि छलफल अघि बढाएको छ। विधानमा चार जना महामन्त्री रहने व्यवस्था गर्न नेताहरूले कसरत गरिरहेका छन्।
पदाधिकारीको सङ्ख्या थपिँदै छ भन्ने प्रश्नमा नेता प्रकाशशरण महतले यसबारे अन्तिम निर्णय भइनसकेको बताए। उनले भने, ‘यसबारे अन्तिम छलफल भएको छैन। केही तयारीहरू पक्कै पनि भएका हुन सक्छन्। अहिले नै भन्न सक्ने अवस्था छैन।’
स्रोतका अनुसार देउवा समूहले चार जना उपसभापति राख्ने तयारी गरेको छ। त्यससँगै वरिष्ठ सभापति पद सिर्जना गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ। देउवासहित केही वरिष्ठ नेताहरूलाई सम्मानित हैसियतमा राख्ने तयारी रहेको स्रोतको दाबी छ। ‘हामी सम्मानित नेताहरूलाई त्यहीअनुसारको पद दिने तयारीमा छौँ। सबैलाई सम्मानपूर्वक समेट्छौँ,’ नेता एनपी साउदले भने, ‘शेरबहादुर दाइ सभापति बन्नुहुन्न। उहाँजस्तै वरिष्ठ नेताहरूलाई सम्मानित पदमा राख्ने विषयमा छलफल थालिसकेका छौँ।’
त्यस्तै, देउवा समूहले चार जना महामन्त्री राख्ने विषयमा पनि छलफल अघि बढाएको छ। विधानमा चार जना महामन्त्री रहने व्यवस्था गर्न नेताहरूले कसरत गरिरहेका छन्। सहमहामन्त्रीको सङ्ख्या बढाउने तथा नयाँ पद सिर्जना गर्ने विषयमा समेत छलफल भइरहेको बताइएको छ।
यस विषयमा नेता महतले सबै कुरा छलफलकै क्रममा रहेकाले अहिलेसम्म कुनै निश्चित निर्णय नभएको बताए। केही नेताहरूलाई समेट्नुपर्ने अवस्था भने रहेको उनको भनाइ छ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित संरचनामा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री रहने व्यवस्था थियो। गगन थापा नेतृत्वको कांग्रेसले विधान संशोधन गर्दै चार उपसभापति र तीन महामन्त्री रहने व्यवस्था गरेको छ। देउवा पक्षले पनि नेताहरूलाई समेट्न पदाधिकारीको सङ्ख्या बढाउने गरी विधान संशोधनको तयारी गरेको बुझिएको छ।


प्रतिक्रिया