काठमाण्डु– नेपाली पावरलिफ्टर मनोज श्रेष्ठलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन शिवम् सिमेन्टले सहकार्य गर्ने भएको छ ।
सन् २०१७ देखि पावरलिफ्टिङ क्षेत्रमा सक्रिय श्रेष्ठले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदकसहित उल्लेखनीय सफलता हासिल गर्दै आएका छन् । उनले सन् २०२५ मा सम्पन्न वर्ल्ड पावरलिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए ।
त्यस्तै, NYFC Classic 2024 र प्रथम भ्याली लेभल ओपन पावरलिफ्टिङ च्याम्पियनसिप २०२४ मा पनि उनले स्वर्ण पदक हासिल गरेका थिए । श्रेष्ठको बेन्च प्रेस रेकर्ड १८० केजी तथा पावरलिफ्टिङ टोटल रेकर्ड ७८१ केजी रहेको छ ।
श्रेष्ठको निरन्तर मेहनत, अनुशासन र खेलप्रतिको समर्पणलाई सम्मान गर्दै आगामी खेल यात्रामा सहयोग गर्ने उद्देश्यले सहकार्य गर्न लागिएको शिवम् सिमेन्टले जनाएको छ ।
गुणस्तर र मजबुतीलाई आफ्नो पहिचान बनाएको शिवम् सिमेन्टले यसअघि पनि भलिबल, फुटबल, क्रिकेट तथा म्याराथनलगायत विभिन्न खेलकुद गतिविधिमा सहकार्य गर्दै आएको छ । कम्पनीले नेपाली खेलाडीको प्रोत्साहन तथा खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यले यस्तो सहकार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ ।


प्रतिक्रिया