तीन वर्षभित्र गुणस्तरीय शिक्षा :सञ्चारमन्त्री बाँस्कोटा

तीन वर्षभित्र गुणस्तरीय शिक्षा :सञ्चारमन्त्री बाँस्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तीन वर्षभित्र सामुदायिक शिक्षा परिमार्जन गरी गुणस्तरीय बनाइसक्ने दाबी गरेका छन् । एशियाली विकास बैंक (एडीबी)को ६ करोड ऋण सहयोग तथा पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (शिक्षा) को समन्वयमा चौँरीदेउराली गाउँपालिका–४ सालिमेछेडास्थित सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित १२ कोठे भवनको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी हुने गुणस्तरीय शिक्षा बनाइसक्ने बताए ।

मन्त्री बाँस्कोटाले सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता दिने बताए । मन्त्री बाँस्कोटाले शिक्षा सामाजिकीकरण र व्यवहारिक हुनुपर्ने बताउँदै भने, “शिक्षालाई अर्थतन्त्रसँग जोड्नुपर्दछ, यसले आत्मनिर्भरतालाई प्रोत्साहित गर्दछ”, परिमार्जित शिक्षाले मानिसलाई संस्कारप्रति बफादार बनाई श्रमप्रति सम्मान गर्ने उनको दाबी थियो ।

सांसद गङ्गाबहादुर तामाङले मुलुक निर्माणको चरणमा रहेकाले जनतासँगका प्रतिबद्धता पूरा गर्ने बताए । प्रदेशसभा सदस्य रत्न ढकालले शिक्षा उत्पादन र समृद्धिउन्मुख हुनुपर्ने धारणा राखे ।गाउँपालिका अध्यक्ष दीननाथ गौतम र विद्यार्थी नेता दीपक गौतमले संविधानमा सुनिश्चित गरिएको मौलिक हकका अधिकारबाट कोही पनि बञ्चित नभएको बताए । रासस