काठमाडौं – संसदमा दुईतिहाइ बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कूटनीति सफलताका सूचक गत वर्ष नै देखिएका हुन् । भारत र चीनसँग सन्तुलित सम्बन्ध तथा चीनसँग सिधा सम्बन्ध स्थापित गर्न ओली सरकार अघिल्लो वर्ष नै सफल भएको हो । चालू वर्षको शुरूमै राष्ट्रपति विद्यादेवी भण्डारीको उच्चस्तरीय चीन भ्रमणले गत वर्षको कूटनीतिक सफलतालाई संस्थागत गर्ने काम गरेको छ । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच ‘ग्रेट हल अफ द पिपल’मा विभिन्न दूरगामी प्रभाव राख्ने सम्झौता भएका छन् ।
पारवाहन तथा यातायात सम्झौता कार्यान्वयनको सहमतिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका यातायातमन्त्री ली सिआओपेङले हस्ताक्षर गरेका छन् । चिनियाँ सहयोगमा बनेका विद्यमान परियोजनाका मर्मत तथा सबलीकरणका लागि अनुदान र सहयोगपत्र हस्तान्तरणमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री ज्ञवाली तथा चिनियाँ वाणिज्य मन्त्री झोङ शानले हस्ताक्षर गरेका छन् ।
संविधान घोषणापछि भारतले लगाएको अघोषित नाकाबन्दीका कारण चीनसँग नाका खोल्नुपर्ने बहस शुरू भएको थियो । त्यो बहसले मूर्तरुप पाउने र चीनसँग व्यापारिक नाका खोल्ने गरी पारवाहन सम्झौता कार्यान्वयन सहमति भएको छ । चालू वर्षभित्र सम्झौता कार्यान्वयनका लागि अन्य थप प्रक्रियाहरू पूरा गरिने सरकारी अधिकारी बताउँछन् । सम्झौतापछि चीनसँग विशेष व्यापारिक सम्बन्ध स्थापित हुनु ओली सरकारको सफलताको शुरूवात हो ।
नेपाल–चीनबीच ‘आर्थिक तथा प्राविधिक सहयोग सम्झौता तथा नेपालको उत्तरी क्षेत्रमा जीविकाका क्षेत्रमा सहयोग सम्बन्ध सबलीकरण’ सम्झौता, ‘नेपाल गुणस्तर विभाग तथा स्ट्याण्डर्ड एण्ड मेट्रोलोजी एण्ड स्ट्यान्डर्डाइजेसन एडमिनिस्ट्रेसन अफ चाइनाबीच सहयोगका सहमतिपत्र’ र ‘सांस्कृतिक सम्पत्तिको चोरी, गोप्य उत्खनन, गैरकानूनी आयात तथा निर्यात प्रतिबन्ध लगाउने’ सम्झौतामा समेत हस्ताक्षर भएको छ ।
नेपाल आउँछन् चिनियाँ राष्ट्रपति ?
नेपाल–चीन कूटनीतिक निकटता राष्ट्रपति भण्डारीकै भ्रमणमा सीमित हुने देखिँदैन । सरकारी अधिकारीका अनुसार चिनियाँ राष्ट्रपति सीलाई नै नेपाल भ्रमणमा ल्याउने गरी प्रयास भइरहेको छ । ओली सरकार बनेपछि स्थापित राजनीतिक स्थायित्वसँगै नेपाल–चीन उच्चस्तरीय कूटनीति भ्रमणको तयारी भइरहेको छ । गत वर्ष नै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमण र राजनीतिक स्थायित्वले गर्दा चीनसँग सम्बन्ध सुमधुर र निकट हुँदै गएको छ । यसबीच चीन सरकारका विभिन्न तहका टोलीले नेपालको भ्रमण गर्दै सहयोग आदान–प्रदानको अध्ययन र सम्भावनाबारे छलफल समेत गरेका छन् । चिनियाँ र नेपाली टोलीबीच भएका समझदारीलाई मूर्तरुप दिन उच्चस्तरीय छलफल र भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
चीनसँग भएको व्यापार तथा पारवहन सम्झौतालाई राष्ट्रपति भण्डारीको चीन भ्रमणका क्रममा अन्तिम रुप दिइएको छ । अब चिनियाँ विदेशमन्त्रीको नेतृत्वमा उच्चस्तरीय टोली नेपाल आउने र राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको तयारी हुने स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीको भ्रमण समेत चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणसँग जोडिएको जनाइएको छ । विक्रम संवत् २०७६ भित्रै चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउनेमा सरकारी अधिकारी विश्वस्त छन् ।
राष्ट्रपति सी जिनफिङ नेपाल हुँदै भारत लगायत दक्षिण एसियाली मुलुकमा भ्रमण गर्ने कार्यतालिका बनिरहेको चिनियाँ स्रोतले जनाएको छ । पछिल्लो समय चीनले दक्षिण एसियाली राष्ट्रलाई विशेष महत्वका साथ हेर्ने गरेको छ । झन् नेपालसँग सीमा नै जोडिएकाले चीनले नेपाललाई प्राथमिकतामा राखेको छ ।
राष्ट्रपतिको भ्रमणलाई चीनमा महत्त्व !
विगतमा चीनमा नेपालबाट हुने उच्चस्तरीय भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले खासै महत्त्व दिने गरेका थिएनन् । तर यसपालि राष्ट्रपति भण्डारीको भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले महत्त्व दिएका छन् । चीनको सरकारी सञ्चारमाध्यम ‘चाइना डेली’ले आफ्नो पहिलो पृष्ठमै राष्ट्रपति सी र राष्ट्रपति भण्डारीको फोटोसहित समाचार छापेको छ ।
‘चिनियाँ राष्ट्रपतिले बीआरआईमा नेपालको सहभागितालाई सम्बोधन गर्दै’ शीर्षकमा सरकारी सञ्चारमाध्यममै छापिएको समाचारलाई अर्थपूर्ण मानिएको छ । ‘चीन र नेपालले पूर्वाधार निर्माण र चीन–नेपाल सीमापार आर्थिक सहायता क्षेत्रमा सहकार्य बढाउनुपर्छ,’ राष्ट्रपति सीलाई उदृत गर्दै समाचारमा उल्लेख छ, ‘चीनले नेपालसँगको सम्बन्धलाई धेरै महत्त्व दिएको छ । चीनले नेपाललाई राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताका साथै नेपालको राष्ट्रिय आवश्यकताका आधारमा विकासका नयाँ बाटाहरू खोज्न सहयोग गरिरहेको छ ।’
चिनियाँ राष्ट्रपतिले नेपालका लागि सम्बोधन गर्नु र सरकारी सञ्चारमाध्यमले विशेष महत्त्व दिएर पहिलो पृष्ठमै समाचार प्रकाशित गर्नुले चीनसँग नेपालको बढेको निकटतालाई स्पष्ट पारेको छ । चिनियाँ र नेपाली प्रतिनिधिबीच पछिल्लोे केही समयदेखि महिनैपिच्छे छलफल र वार्तालाप हुने गरेका छन् । चीनसँगको कूटनीतिक सम्बन्ध विशेष बनाउन र त्यसबाट लाभ प्राप्त गर्न ओली सरकारका लागि चालू वर्ष सफल हुने स्पष्ट संकेत देखिएका छन् । छिमेक नेपालमा चीनले खोजिरहेको स्थिर सरकार समेत पाएको बेलामा नेपाल–चीन दुवैलाई फाइदा हुने देखिएको छ ।




प्रतिक्रिया