काठमाडौँ—वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विकासका रणनीति र योजनामा जलवायु परिवर्तनका असर र प्राकृतिक विपद् विषयमा क्षेत्रीय सहयोग बारे अर्थपूर्ण सम्वाद हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
कतारको दोहामा भएको ‘एशिया कोपरेशन डाइलग’ (एसिडी) को १६ औं सम्मेलनअन्तर्गत सदस्य राष्ट्रका मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले अन्तरक्षेत्रीय पर्यटन र लगानीको प्रवद्र्धन तथा क्षेत्रीय सम्पर्क सञ्जालको महत्वका बारेमा औंल्याएका हुन्।
‘प्रगतिमा साझेदारी’ मुख्य उद्देश्य रहेको मन्त्रिस्तरीय बैठकमा एसिडी मञ्चलाई सवल बनाउन र सदस्य राष्ट्रका सदस्यबीच सहयोग अभिवृद्धिका विभिन्न आयाममा छलफल भएको थियो । मन्त्री बस्नेतले नेपालमा विदेशी लगानीका विभिन्न मार्गका बारेमा प्रकाश पार्दै नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा भ्रमणका लागि निमन्त्रणासमेत गरेका थिए। सम्मेलनमा भाग लिन उनी मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका थिए।
दोहा घोषणाले दिगो विकास, सम्पर्क सञ्जाल, साइबर सुरक्षा, पर्यटन र संस्कृतिको प्रवद्र्धन, स्वास्थ्य र खेलकूद क्षेत्रकोे विकास, जलवायु परिवर्तनका असर र प्राकृतिक विपद् न्यूनीकरणमा सामुहिक प्रयासलगायत विषयमा क्षेत्रीय सहयोग र सहकार्यलाई आत्मसात गरेको छ । सम्मेलनअन्तर्गत मङ्गलबार भएको सदस्य राष्ट्रहरुका वरिष्ठ पदाअधिकारीस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमालले गरेका थिए।
सन् २००२ मा स्थापना भएको ‘एसिडी’ यस क्षेत्रको क्षेत्रीय सङ्गठन हो । एशियाली देशबीच एकता बढाउन स्थापना भएको यस सङ्गठनमा एशियाका ३४ राष्ट्र सदस्य छन् । नेपाल सन् २०१६ मा ‘एसिडी’को सदस्य बनेको हो ।




प्रतिक्रिया