पार्टीका जो सुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिए कडा कारवाही गरिन्छः नेता पौडेल

पार्टीका जो सुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिए कडा कारवाही गरिन्छः नेता पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर– नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेसमा आबद्ध जुनसुकै तहका र जो सुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारवाही गरिने बताएका छन् ।

प्रेस युनियन उदयपुरले आज बिहान उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले सो धारणा राखेका हुन् ।

पार्टी कामको सिलसिलामा उदयपुर आइपुग्नु भएका नेता पौडेलले अहिले बालुवाटारको जग्गा काण्ड, एनसेलको काण्ड र वाइड वडी काण्डमा विभिन्न पार्टीका नेताहरुको नाम जोडिएको र त्यसमा नेपाली काङ्ग्रेसका पार्टी सभापति शेरबहादुर देउवाकोसमेत नाम जोडिएकोले यदि पुष्टि भए आफूहरु पार्टी सभापति देउवालाई समेत कारवाही गर्न तयार रहेको उल्लेख गरे।

उनले वर्तमान सरकारले राम्रो काम गर्ने अवसर पाइरहेको भएता पनि नेपाली जनताले सोचे जस्तो काम गर्न नसकेको धारणा राखे ।

नेता पौडेलले अहिले सक्ता पक्ष र विपक्षीबीच वाक युद्ध चलिरहेको र यस्तो वाक युद्धले प्रजातन्त्र र सङ्घीयतालाई बलियो नबनाउने भन्दै सरकार पक्ष र विपक्षी दुवैले बोल्दा संयम भएर शिष्ट तरिकाले संसदीय मर्यादामा रहेर बोल्न सिक्नुपर्ने सुझाव दिए ।

उनले काङ्ग्रेस पार्टी लामो इतिहास बोकेको पार्टी भएको कारण पार्टी्भित्र सानातिना झिनामसिना कुराले कुनै असर नपार्ने बताए । वर्तमान सरकारले अब भाषणमा भन्दा बढी कृषि क्रान्ति र पर्यटन विकासमा लाग्न सके नेपालले छिटो विकासमा फड्को मार्ने सुझाव नेता पौडेलले सरकारलाई दिए ।

पार्टीको महाधिवेशनमा आफूले पनि आवश्यक परे सभापतिको उम्मेदवार बन्न सक्ने नेता पौडेलको भनाइ थियो । रासस