काठमाण्डु – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीनमा बिहीवार ऐतिहासिक शिखर वार्ता हुँदैछ ।
तीन देशका शीर्ष नेताहरूको यो पहिलो औपचारिक वार्ता हो।
तीन नेताहरूले चीनको सेन्जनमा गर्ने बैठकमा विश्व शान्तिसँग सम्बन्धित विषयमा ुगहिरो विचारु आदानप्रदान गर्ने चीनले जनाएको छ।
बैठकको पूर्ण अजेन्डा अस्पष्ट भएपनि युक्रेन र इरानबिरूद्धका युद्धहरू र परमाणु निःशस्त्रीकरण विषयमा छलफल हुने ठानिएको छ।
विश्वलाई प्रभाव क्षेत्रका आधारमा बाँड्ने नयाँ व्यवस्थाको संकेत यो बैठकले गर्न सक्ने जनाइएको छ ।
तीनै नेताहरू चीनको दक्षिणी शहर सेन्जनमा आयोजना भइरहेको एशिया प्यासिफिक इकोनोमिक कोअपरेशन सम्मेलनमा सहभागी पनि छन् ।
ट्रम्प, सी र पुटिन तीनैजना बिहीवार सम्मेलनस्थल सेन्जन इन्टरन्याश्नल एक्सचेन्ज सेन्टर पुगेका चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ।
सम्मेलनमा सबैको ध्यान त्रिदेशीय शिखर सम्मेलनमा छ। राष्ट्रपति ट्रम्प, राष्ट्रपति सी र राष्ट्रपति पुटिनबीचको बिहीवारको अभूतपूर्व बैठकमा के हुन्छ भन्नेबारे सर्वत्र चासो छ।
तीनै नेताहरू शिखर सम्मेलनमा भाग लिन सेन्जनमा अवस्थित किलिअन भिल्लातर्फ जाने छन्। सन् १९९७ मा खोलिएको उक्त सरकारी स्वामित्वको परिसरमा कैयौँ चिनियाँ र विदेशी नेताहरूलाई स्वागत गरिएको छ।
एपेक सम्मेलनको समयमा अमेरिकाले लगाएको भन्सार शुल्क र त्यसप्रति दुर्लभ खनिजको निर्यात रोकेर चीनले जनाएको प्रतिक्रियाजस्ता विषय पनि चर्चामा छन्। अमेरिका र चीनबीचको संवेदनशिल व्यापार युद्ध स्थगनको अवधि जनवरीमा समाप्त हुँदै छ।
अमेरिका र चीनबीचको प्रविधि प्रतिष्पर्धामा एआई र चिप्स केन्द्रमा छन्। हालैको एनभिडिआ प्रकरणले चीनमा चिप्सहरू तस्करी हुने गरेका आरोपबारे थप छानबिनको परिस्थिति निम्त्याएको छ र अमेरिकाले यसलाई राष्ट्रिय सुरक्षाको सवाल भनिरहेको छ।
राष्ट्रपति ट्रम्पले पुटिन र सीसँग निःशस्त्रीकरणसहित कैयौँ मुद्दामा छलफल हुने बताएका छन्। तर चीनले लामो समयदेखि परमाणु निःशस्त्रीकरण बारेका वार्तामा सहभागी हुन अनिच्छा जाहेर गर्दै आएको छ। आफ्नो अस्त्र भण्डार रुस र अमेरिकाको तुलनामा सानो रहेको चीनको भनाइ छ।
विज्ञहरूले युक्रेन लडाइँबारे सम्मेलनमा कुनै ठोस निर्णय हुने अपेक्षा गरेका छैनन्। किनभने त्यहाँ परस्पर विरोधी स्वार्थहरू प्रकट हुन सक्छन् र युक्रेन छलफलमा सहभागी छैन्।
इरान युद्धबारे त्रिदेशीय वार्तामा छलफल गर्ने इच्छा राष्ट्रपति ट्रम्पले गरेका छन्। मस्को र बेइजिङ औपचारिक रूपमा इरानका साझेदार होइनन् तर उनीहरूले उक्त इस्लामिक गणतन्त्रसँग रणनीतिक साझेदारी कायम राखेका छन्।
सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण स्तरको आक्रमण थालेपछि पुटिन बहिस्कृत जस्तो बनेका थिए। पश्चिमा नेताहरूले उनलाई एक्ल्याउने प्रयास गरेका थिए। तर सन् २०२६ सम्म आइपुग्दा उनी विश्वका सर्वाधिक दुई शक्तिशाली नेताहरूसँग संयुक्त बैठकमा बस्दै छन्।



प्रतिक्रिया