नारायणपुर – जङ्गली डढेलोका कारण माले र सिरुखर्कको सिङ्गो गाउँ नै खरानी बन्यो । दाङको घोराही उपमहानगरपालिका– १ तल्लो माले र सिरुखर्कका अग्निपीडित अहिले बारी र रुखमुनी छन् ।
जिन्दगीभर कमाई जोगाएर राखेको सम्पति र भविष्यको योजना आगोसँगै डढेपछि उनीहरू खुल्ला आकाशमुनि सुत्न बाध्य भएका हुन् । ‘आगोले घर गोठसँगै सबै सरसमान जलेर नष्ट भए’ पीडित हेमलाल थापाले भने, ‘बारी र रुखमुनी दिनरात बस्नुपरेको छ ।’ तल्लो माले र सिरुखर्क गाउँमा वन क्षेत्रबाट आएको आगोले २० घरगोठ जलेर नष्ट भएका थिए ।
आगलागीबाट झण्डै रु ५१ लाख बराबरको सामान क्षति भएको छ । जङ्गलबाट सल्किएको आगो गाउँमा आइपुग्दा एकै परिवारका १० जनाको घरगोठ समेत जलेर नष्ट भयो । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा परी रु ५० लाख ९० हजार बराबरको धनमाल क्षति भएको छ ।
शैक्षिक वर्षको शुरुमै बालबालिकाले पढ्ने किताब मात्र हैन, विद्यालय पोशाकसमेत आगोमा परे । भर्खरै किनेका नयाँ किताब आगोमा दनदनी जल्दा बालबालिकाको आँखामा आँशु भरिएर आएको पीडित थापाले बताए ।
‘भविष्य नै सकिए जस्तो लाग्या छ ।’ थापाले भने, ‘बालबालिकाको किताब कापीदेखि सुनका गहना सबै आगोले खायो ।’ जिन्दगीभरको कमाइ र मेहनत आगोमा परेपछि अग्निपीडितले भोलिको जीवन यापनबारे कुनै सोच बनाउन सकेका छैनन् ।
‘रेडक्रसले दिएको त्रिपाल टाँगेर बारीमा बसेका छौँ’ प्रेमबहादुर थापाले भने, ‘शरीरको एकसरो कपडासँग रहेका अग्निपीडितलाई चर्को घामपानीमा बास नहुँदा निकै पीडा भएको छ ।’ पानीको अभाव र तीव्रगतिमा चलेको हावाका कारण आगो निभाउन नसेकको पीडितहरूको भनाइ थियो । यसअघि बुधबार बेलुका सोही वडाकै तल्लो माले गाउँमा पनि वन क्षेत्रबाट आएको आगो पस्दा चार परिवारका १० घरगोठ जलेर खरानी भएको थियो ।
उता देउखुरीको राजपुर गाउँपालिका–१ पटौली नाकाका गगन बस्नेतको घरगोठमा आगलागि भएको छ । सोलारको तार सर्ट भएर आगलागी हुँदा चार बाख्रा मर्नाका साथै घरगोठ पूर्णरुपले जलेको थियो ।
यस्तै दाङको शान्तिनगर गाउँपालिकामा गत सोमबार दिउँसो एकैपरवारको तीन घरमा आगलागी भयो । जुम्ले कुलामा एकैपरिवारका बुद्धिराम रेउले, गौरीलाल रेउले र कुलबहादुर रेउलेको घरमा आगलागी हुँदा लाखौँको धनमाल क्षति भयो ।
केही दिनअघि मात्रै तुलसीपुर टरिगाउँ बिमानस्थल नजिकैको ऊँबहादुर चौधरीको काठ मिलमा भएको आगलागीबाट लाखौंँको काठ, चिर्न प्रयोग हुने औंजार, एउटा मोटरसाइकल, दुईवटा साइकललगायत सामग्री जलेर नष्ट भएको थियो ।
वर्षेनी आगलागीका कारण करोडौँको धनमाल खरानी हुने गरेको दाङमा पाँच वर्षको अवधिमा ६७९ घर जलेर नष्ट भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कममा उल्लेख छ । आर्थिक वर्ष २०६९र७० मा १०४ घर तथा २०७०र७१ मा १३७ घर सखाप भएका थिए ।
यस्तै आगलागीमा परी आव २०७१र७२ मा १८० घर २०७२र७३ मा ११८ घर परिवारले घरवास गुमाउनु परेको थियो । यस्तै २०७३र७४ मा ८५ घरमा आगलागी भएको थियो । यस वर्षको फागुन २५ गतेसम्म ५५ घरमा आगलागी भएको जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले बताए ।
‘आजभोलि सुख्खा र हावाहुरी चल्ने याममा आगो पूर्ण रूपमा ननिभाउँदा र मानवीय त्रुटिका कारण पनि आगलागी हुने गरेको छ ।’ दाहालले भने, ‘मानिसले आनीबानीमा सुधार गर्नुपर्छ, यस्तो मौसममा जथाभावि आगो छोड्नु हुँदैन, जङ्गलमा आगो लगाउनु हुदैन ।’ जङ्गलमा आगो लगाउँदा दन्कोको आगो बस्तीसम्म आएर गाउँ नै सखाप पार्ने जोखिम रहेको उनले बताए ।
दाङमा अहिले चारवटा मात्रै दमकल छन् । घोराही उपमहानगरपालिकामा १, तुलसीपुर उपमहानगरपालिका–१ र लमही नगरपालिकासँग भएका दुई वटा दमकलले सिङ्गो जिल्लाका सबै स्थानमा सेवा दिनुपर्ने अवस्था छ ।
आगलागीका घटना जिल्लाको शहर बजार भन्दा धेरै टाढा ग्रामीण भेगमा हुनु र दमकल शहरमा केन्द्रित भएका कारण समयमै आगो रोकथाम गर्न समस्या भएको लमहीनगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए । रासस




प्रतिक्रिया