काठमाण्डौं – समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संसद्मा पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकता दिशाहीन भएको आरोप लगाएका छन् । आइतबारबाट सुरु भएको पि–बजेट छलफलमा भाग लिँदै डा. भट्टराईले बजेटका सिद्धान्त र प्राथमिकता निरन्तरतामा आएपनि अर्ध निद्रामा भएको मान्छेले हाइ काढ्दै निबन्ध लेखेको जस्तो फिल भएको बताए ।
डा. भट्टराईले अगाडि भने, ‘बजेटका सिद्धान्त र प्राथमिकतामा विद्वान अर्थमन्त्रीले आफैँमाथि न्याय गर्नुभएको जस्तो देखिएन’, ‘बजेटका प्राथमिकता र सिद्धान्त लेख्ने बेला समयको अभाव वा इच्छाशक्तिको अभावले हो अर्ध निद्रामा भएको मान्छेले हाइ काढ्दै निबन्ध लेखेको जस्तो आयो । नविनता, सरसता, तीव्र ढंगले दिशाबोध गर्ने प्रतिबद्धता छैन । खाली कर्मकाण्डी प्रकारको दस्तावेज जस्तो आयो । बिरालो बाँधेर श्राद्ध गर्ने मात्रै विधि हुन्छ कि भन्ने चिन्ता लागेको छ । अलि समय लिएर जाँगर चलाएर दस्तावेज चलाउनु भए उहाँको र हाम्रो पनि सम्मान हुन्थ्यो’, डा– भट्टराईको सुझाव थियो, ‘हाम्रो अर्थतन्त्र तीव्र तवरले विकास भएको देखिन्छ तर यो रोगको कारणले मोटाएजस्तो देखिन्छ ।’
सरकारले दाबी गरेजस्तो सुशासन र समृद्धिको आधार तयार भएको भनेर विश्वास गर्ने आधार तयार भएको कुरा सत्य नभएको उनले दाबी गरे । ‘लगानीको वातावरण बन्यो, बाह्य लगानी ह्वारह्वार्ती आउन लाग्यो भन्ने अवस्था छैन । लगानी सम्मेलन गरेपनि यसवर्ष वैदेशिक लगानी गत वर्षभन्दा कम आएको सरकारको तथ्याङ्क छ,’ उनले भने ।
पूर्वअर्थमन्त्री समेत रहेका भट्टराईले आर्थिक वृद्धिमा जोड गर्ने कि वितरणमा भन्ने कुरामा नीतिगत प्रस्टता जरुरी रहेको बताए । उनले भारतसँग पराश्रित अर्थतन्त्रमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने विषयमा खुलेर बहस गर्न आग्रह गरे ।
यसअघि शुक्रवारको बैठकमा अर्थमन्त्री खतिवडाले न्यायिक वितरण सहितको उच्च आर्थिक वृद्धि, समाजिक न्याय सहितको समावेशी विकास, क्षमता अनुसारको कामको अवसर र मर्या्दित रोजगारीको सुनिश्चितता, फराकिलो दायरको सामाजिक सुरक्षा, व्यवस्थित र गुणस्तरीय पूर्वाधार राष्ट्रिय पूँजीको सम्वद्र्धन नयाँ बजेटका सिद्धान्त हुने बताएका थिए । पूर्वबजेट छलफलमाथि संसद्मा भोलिसम्म छलफल हुनेछ ।




प्रतिक्रिया