आईजीपी खनालद्वारा दुईवटा ब्यूरोको उद्घाटन, नागरिकलाई अपराधबाट सुरक्षित राख्न उद्घोष


काठमाडौँ— प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले छुट्टाछुट्टै कार्यक्रमबीच काठमाडौं भोटाहिटीस्थित केन्द्रीय साइबर ब्यूरोको भवन र बबरमहलस्थित मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्यूरो कार्यालयको शुभारम्भ गरेका छन्।

भवन उद्घाटन तथा कार्यालय शुभारम्भका अवसरमा मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्यूरोको कार्यालय बबरमहलमा आयोजित संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले मानव बेचबिखन तथा साइबर अपराधको चपेटाबाट नागरिकलाई सुरक्षित राख्न दुबै ब्यूरोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

सरकारको नीति कार्यान्वयन गर्ने कामको सँगसगै प्रहरी संगठन र विभिन्न विभाग, मन्त्रालयहरुको मूल उद्देश्य नागरिकलाई सेवा प्रदान गर्ने हो भन्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले सबै सरोकारवाला निकाय तथा संघ संस्थाहरुले एकआपसमा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
यस्ता अपराधबाट पीडितलाई न्याय दिलाउने कार्यमा सहज व्यवस्था मिलाउन समेत सबै सरोकारवाला निकायहरुले समन्वय गर्दै जानुपर्ने उनले बताए।

आगामी दिनमा दुबै ब्यूरोलाई विज्ञ जनशक्ति, आवश्यक प्रविधि तथा साधनस्रोत सहित थप व्यवस्थित गर्दै लैजानेतर्फ संगठनको प्रयास रहने प्रतिवद्धता व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले भविष्यमा मानव बेचबिखन तथा साईबर अपराधबाट कोही पनि पीडित नहुन् भन्नेतर्फ दुवै ब्यूरोले विशेष भूमिका खेल्ने विचार व्यक्त गरे।
मानव बेचबिखन तथा भष्ट्राचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाई नेपाल प्रहरीले सबै सरोकारवाला निकायसँग सहकार्य र प्रभावकारी समन्वय गर्दै अगाडि बढ्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement