शताब्दी पुरुष सत्यमोहन जोशीलाई राष्ट्रपतिले दिइन् शुभकामना

शताब्दी पुरुष सत्यमोहन जोशीलाई राष्ट्रपतिले दिइन् शुभकामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मशतवार्षिकीका उपलक्ष्यमा उनलाई शुभकामना दिएकी छिन् । राष्ट्रपतिका भाषा तथा संस्कृतिविद् माधव शर्माले जोशी एक सय वर्षमा प्रवेश गरेका उपलक्ष्यमा राष्ट्रपतिले उनको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दैे खुशी व्यक्त गरेको अभिनन्दनपत्र हस्तान्तरण गरे ।

पत्रमा भनिएको छ, ‘तपाईँले विगत आठ दशकभन्दा बढी समयदेखि नेपाली वाङ्मयको उन्नयनमा सतत क्रियाशील रहँदै लोकसंस्कृति र साहित्यको अध्ययन अनुसन्धानमा सम्पूर्ण जीवन समर्पित गर्नुभएको छ । तपाईँको सुदीर्घ ज्ञानसाधनाले नेपाली साहित्य तथा सांस्कृतिक भण्डारलाई समृद्ध तुल्याएको छ । तपाईले हामीलाई मित्रराष्ट्र चीनसँग जोड्ने नेपाली कलाकार विभूति अरनिको खोज गरेर गुन लगाउनुभएको छ ।

त्यसैगरी हाम्रो कर्णाली सभ्यता र नेपालीभाषाको उद्गम थलो सिंजाको महत्व उजागर गरेर हाम्रो ज्ञान भण्डारलाई धनी तुल्याउनुभएको छ । नेपालभाषा साहित्यको श्रीवृद्धिमा तपाईँको उल्लेखनीय देन रहिआएको छ । तपार्इँजस्ता दीर्घसेवी व्यक्तित्व सय वर्ष प्रवेश गर्नुभएको उपलक्ष्यमा दीर्घायु तथा सुस्वास्थ्यको मङ्गलमय कामना गर्न पाउँदा म हर्षित छु ।’

राष्ट्रपतिले पठाएको सगुन र दोसल्ला पनि जोशीले ग्रहण गरे । जोशीले आफूले जीवनमा यस्तो सौभाग्य कहिल्यै पाउँछु होला भनेर नसोचेको बताए । ‘मलाई थप बाँच्ने ऊर्जा बढेको छ’, जोशीले भने, ‘आज म अन्य दिनभन्दा निकै खुशी भएको छु ।’

जोशीलाई शुभकामना दिन सहभागी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महान् व्यक्तिलाई जीवित छँदै सम्मान गर्नुपर्ने बताए । ‘उहाँको आयु थप्न सम्मान गरेका हौँ’, महर्जनले भने ।’ लमपा– १२ का वडाध्यक्ष नारायणलाल अवालले नेवार समुदायमा ९९ वर्ष नौ महिना नौ पल नौ दिनमा जंकु गर्ने चलन रहने पनि जोशी समुदायले जंकु नगर्ने हुँदा जोशीको एक सय वर्ष जन्मजयन्तीको अवसर पारी सम्मान गरिएको बताए ।

अवालेअनुसार महानगरपालिकाले जोशीको सम्मानमा १५१ जनाको मूल समारोह समिति गठन गरेको छ । ज्यापू समाजका ४० र बौद्ध विहारका १८ जनासहितको टोलीले बाजागाजासहित आज महानगर परिक्रमा गर्ने भएका छन् ।

योगी नरहरिनाथ ट्रष्टका अध्यक्ष शङ्कर पौडेलले जोशीले नेपाली कला र परम्पराको सम्मान गर्दै नेपालाई अन्य मुलुकमा चिनाउन सफल भएकाले उनको कदरस्वरुप संस्थाले अभिनन्दनपत्र प्रदान गरेको जानकारी दिए ।

बौद्धधर्म संस्कृति संरक्षण सङ्घका अध्यक्ष अमित लामा तामाङले जोशीले एक सय वर्षमा अनवरत रुपमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको बताए । नेपाली काङ्ग्रेसका जिल्ला सभापति मदनबहादुर अमात्यले जोशी राष्ट्रिय विभूतिसरह योगदान पु¥याउने व्यक्तित्व भएको उल्लेख गरे । रासस