काठमाडौं – नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले गहुँ र धानको फरक छुट्याउन नसक्ने कांग्रेसबाट अर्थमन्त्री भएकाले विकास हुन नसकेको बताएका छन् ।
संघीय संसद प्रतिनिधिसभामा जारी आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा मंगलबार भाग लिँदै सांसद गिरिले नेपाली समाज नबुझ्ने व्यक्तिहरूलाई अर्थमन्त्री बनाएर नेपाली कांग्रेसले गल्ती गरेको भन्दै विकास हुन नसकेको बताएका हुन् ।
विगतमा कांग्रेसबाट प्रधानमन्त्री भएका व्यक्तिहरूका पालादेखि नै विदेशमा अध्ययन गरेर आएका व्यक्तिहरूलाई अर्थमन्त्री बनाउनुका कारण मुलुकको विकास हुन नसकेको धारणा राखेका थिए ।
उनले भने, ‘अर्थमन्त्रीको पद विशेषज्ञताको पद होइन । लामो समययता, कांग्रेसको समयमा पनि बाहिरबाट पढेर आएका पिएचडी गरेका गहुँ र धानको फरक थाहा नपाउने, प्याज र आलुलाई पानी चाहिन्छ कि चाहिँदैन भन्ने थाहा नपाउने अर्थमन्त्री बनाइए ।’
‘वृद्धि दरको धारणाको मोह छोड्नुस्, यदि तपाई सामाजिक न्याय कायम गर्न चाहनुहुन्छ भने । वृद्धिदर अलग शब्द हो । विकास अलग शब्द हो । सँगसँगै आम जनताको उन्नति अलग शब्द हुन्,’ उनले भने, ‘सिद्धान्तका हिसाबले कुरा गर्दा तपाईले संकेत गर्नुभएको दिगो अर्थव्यवस्थाको सिलसिलामा वृद्धि दरको मोह र माया छोडेर वैकल्पिक उर्जामा तपाई कति खर्च गर्ने वाला हुनुहुन्छ त्यो बताउनुहोस् मलाई ।’
वीपी कोइराला प्रारम्भमा अलमलिए पनि पछि विकासको मोडल नेपालका लागि उपयुक्त नभएको भनी अस्वीकार गरेको प्रसंग उल्लेख गर्दै उनले त्यसपछिका सरकारले पनि अमेरिका वा जर्मनीबाट पिएचडि गरेकाहरु नै अर्थमन्त्रीको रुपमा चयन गर्ने गरेकाले मुलुकको विकास सही ढंगले अघि बढ्न नसकेको जिकिर गरे ।




प्रतिक्रिया