नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको दुई बसमा आगलागी भएको छ । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्ण रूपमा क्षति भएको हो ।
आगलागीका कारण ग्यारेजमा मर्मत भइरहको ना ५ ख २४६५ नम्बरको बसमा बिहान १०ः३० बजे एक्कासि विद्युत् सर्ट हुँदा आगलागी भएको र सोही बस नजिकै रोकिराखेको अर्को ना ४ ख ७०२४ नम्बरको बसमा आगो सल्किँदा दुवै बस जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।
बसमा आगलागी भएलगत्तै स्थानीयवासीले नेपालगञ्जस्थित बारुणयन्त्रलाई खबर गरेका थिए । खबर पाएलगत्तै दमकल घटनास्थलमा पुगेको बारुणयन्त्र, स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले १२ बजे आगो नियन्त्रणमा लिएका थिए । केही ढिलो पुगेका कारण दुवै बस पूर्ण रूपमा जलेको स्थानीयवासीको भनाई छ ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण भने नखुलेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया