पत्नीमाथि एसिड प्रहार

पत्नीमाथि एसिड प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीको कालोपुलकी जेनी खड्का एसिड प्रहारबाट गम्भीर घाइते भएकी छन्। घरायसी विवादमा बुधबार साँझ पति विष्णु भुजेलले एसिड प्रहार गर्दा खड्काको गाला, छाती र हात जलेको छ।

खड्कालाई सुरुमा चाबहिलस्थित ओम अस्पतालमा उपचार गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई कीर्तिपुर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए। अस्पतालका अनुसार उनको अवस्था चिन्ताजनक छ।

प्रहरीले एसिड प्रहार गर्ने भुजेललाई पक्राउ गरेको छ। सुवेदीका अनुसार खड्का विगत एक वर्षदेखि माइत बस्दै आएकी थिइन्। खड्का भुजेलकी दोस्री पत्नी हुन्। उनका दुई वर्षका छोरा छन्। भुजेलले खड्कालाई बेलाबेलामा धम्क्याउँदै आएका थिए। भुजेलले बुधबार साँझ सल्लाह गर्न बोलाएर खड्कामाथि एसिड प्रहार गरेको परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए।

यसअघि २०७१ फागुनमा राजधानीको झोंछेमा ट्युसन पढ्न गएका दुई किशोरी सीमा बस्नेत र संगीता मगरमाथि एसिड प्रहार भएको थियो। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।