राष्ट्रपति भण्डारीद्वारा लुम्बिनी भ्रमण वर्षको उद्घाटन, संसारभरका बौद्धमार्गीलाई लुम्बिनी घुम्न निम्तो

राष्ट्रपति भण्डारीद्वारा लुम्बिनी भ्रमण वर्षको उद्घाटन, संसारभरका बौद्धमार्गीलाई लुम्बिनी घुम्न निम्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा शनिबार आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गरेकी हुन्। सेनाको हेलिकोप्टरमार्फत् लुम्बिनीस्थित सम्मेलन हलमा पुगेकी राष्ट्रपति भण्डारीले उक्त कार्यक्रममको उद्घाटन गरेकी हुन्।

लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजैका दिन प्राप्त गरेका थिए । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए।

६ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्ध भएका थिए। वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ ।

राष्ट्रपति भण्डारीले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा समेत गरेकी छन्। लुम्बिनीको विकासले प्रदेश नं ५ लाई समृद्ध बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले लुम्बिनीलाई विश्वशान्ति केन्द्र बनाउन लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताइन्।

स्थानीयवासीको सहयोग र सहकार्यलाई सँगै लएिर अघि बढ्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले गुरुयोजना छिटो पूरा गर्न लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराइन्। उनले बुद्धस्थललाई जोडेर आन्तरिक पर्यटकीय परिपथ र बाह्य मुलुकसँग जोडेर वृहत पर्यटकीय परिपथ निर्माण गर्न सकिने भएकाले सरकारलाई ध्यान दिन आग्रह गरिन्।

उनले बुद्धपूर्णिमालाई वैशाख दिवसका रुपमा विश्वभर मनाउने वातावरणका लागि पहल गरेकामा सरकारलाई धन्यवाद समेत दिइन्। लुम्बिनी क्षेत्रलाई विश्वस्तरको शैक्षिक केन्द्रको रुपमा प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनी क्षेत्रमा शान्ति, स्थिरताकायम गर्दै जानुपर्ने बताइन्।