– उदय सिंह श्रेष्ठ
नेपालगन्ज – नेपाल प्रहरीको जमुनाहा इलाका प्रहरी चौकीले एक यातायात समितिबाट मासिक हप्ता लिने गरेको खुलासा भएको छ । उक्त प्रहरी चौकीले उठाएको हप्ता (रकम) बाट प्रदेश नं. ५ का डिआईजीका फरमाइसका सामान पठाउनेदेखि पत्रकारलाई खानपिनमा खर्च हुने गरेको समेत तथ्य फेला परेको छ ।
बाँकेको कोहलपुर क्षेत्रको ठेगाना राखी अनुमति लिएकोमा स्वर्गद्वारी यातायात समितिले नेपालगन्ज–रुपैडिहा बोर्डर जमुनाहा प्रहरी चौकी नजिक टिकट काउण्टर राखी पहाडी क्षेत्रबाट भारतको सिमला र चण्डीगण जाने यात्रुलाई सहजताको नाममा भनी जमुनाहा प्रहरी चौकीलाई मासिक ४५ हजार हप्ता दिने गरेको छ । भारतको हिमाञ्चल र चण्डीगणका यातायात समिति मिलेर बोर्डरमा भएको स्वर्गद्वारी यातायात मार्फत जमुनाहा इलाका प्रहरी चौकीलाई हप्ता स्वरुप मासिक ४५ हजार बुझाउने गरेको कुरा अहिले बाहिर आउनुका साथै हप्ताबाट उठाइएका रकम मध्येबाट प्रदेश नं. ५ का डिआईजी पिताम्बर अधिकारीको फरमाइस अनुसारको सामान पठाउनु पर्ने बाध्यता हुनुको साथै केही पत्रकारहरुलाई खानपिन खुवाउनु पर्ने कुरा समेत आएको प्रमाण सुरक्षित राखिएको छ ।
भारतको ती दुई यातायात समितिबाट रकम लिई स्वर्गद्वारी यातायातका अध्यक्ष दिपक चन्दले हप्ता वापत मासिक ४५ हजार जमुनाहा इलाका प्रहरी चौकीलाई दिने गरेको तथा अध्यक्ष चन्दको नागरिकताको विषयमा चण्डीगण र नेपालको नागरिकता समेत छ । मासिक रुपमा नगद ४५ हजार हप्ता पाएपछि जमुनाहा इलाका प्रहरी कार्यालयले उक्त समितिबाट टिकट लिई कुनै चेकजाँच बिना नै निर्वाध रुपमा बोर्डर आवातजावातमा सहज भएको समेत प्रत्यक्षदर्शीले बताएका छन् ।
उक्त स्वर्गद्वारी यातायातले भन्सार कार्यालयको सुविधा शाखाको अगाडि गुण्डा शैलीमा खुलेआम फोर्स कम्पनीका भारतीय नम्बरका बसहरु संचालनमा ल्याएकोमा मिडियाको पहलमा र जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरिक्षक अरुण पौडेलको विशेष सक्रियतामा अवैध रुपमा खोलिएको बसपार्क समेत हटाइएको थियो । पर्दाफासको क्रममा बाँकेको नरैनापुरमा भएको घटनाका कारण हिजोआज उक्त क्षेत्रबाट तस्करहरुले तस्करी गर्न छाडी अहिले जमुनाहा क्षेत्रबाट तस्करी गर्ने गरेको पाइएको छ । हिजोका दिनमा कडा चेकजाँचका बावजुद तस्करी रोकिएको थिएन ।

नेपालगन्ज–रुपैडिहाको नाकामा पहिलो चकेजाँचको कडीको रुपमा रहेको जमुनाहा इलाका प्रहरी कार्यालय सक्रिय नहुँदा दैनिक तस्कर हुने गरेको तथा नेपालगन्ज बजारमा प्रतिबन्ध लगाइएको सामान खुलेआम रुपमा बिक्री वितरण हुने गरेको पुष्टी गर्छ । एउटा यातायात समितिबाट नगद ४५ हजार मासिक हप्ता उठाइन्छ भने अन्य तस्करहरुसँगको मिलेमतोमा ठुलो हप्ता उठाउन सकिने कुरामा स्थानिय बुद्धिजीवीहरु एक मत देखिन्छन् । जमुनाहा इलाका प्रहरी कार्यालयका इन्चार्जलाई डिआईजीले नै सरुवा गर्ने भएको कारण पनि जमुनाहा प्रहरी चौकीलाई पावरफुल मानिदै आउनुका साथै जिल्ला प्रहरी कार्यालयले समेत मौन समर्थन जनाएको देखिएको छ ।




प्रतिक्रिया