उदय सिंह श्रेष्ठ
नेपालगन्ज – नेपाल-भारतको बोर्डर रुपैडिहा बजारबाट आउने गरेको मिसावट अखाद्य खाने तेल आयातमा रोकिएको एक हप्ता नहुंदै अहिले विभिन्न अफवाह हल्ला फैलाई खाने योग्य छ भनी आयात सहज गराएको छ ।
रुपैडिहा बजारबाट नेपाल भित्रिने गरेको खाने तेल मिसावट अखाध्य भएको कुरा भारतीय अधिकारीहरुबाट अभिव्यक्ति आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको सक्रियतामा नेपाल प्रहरीका एसपी अरुण पौडेल, सशस्त्र प्रहरीका एसपी भेषबहादुर शाही, भन्सार प्रमुख शान्तिराम निरौला र सशस्त्र प्रहरी राजस्व गुल्मका डिएसपी निरान्कर नाथ शुक्लाको संयुक्त छलफलपश्चात मिसावट खाने तेल आयात नगर्ने निर्णय गरिएको थियो ।
तर एक हप्ता नपुग्दै मिसावट तेल आयातको लागि ठुलो चलखेल हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जले विशेष निगरानी राख्ने बताएको छ । मिसावट खाने तेल आयात बन्द भएपछि रुपैडिहा बजारका खाने तेलका ठुला व्यापारीमा हाहाकार मच्चिनुको साथै पत्रकारलाई यो विषयमा नबोल्न अफर आएका थिए । बोर्डरमा स्थापित जमुनाहा इलाका प्रहरी कार्यालयले रुपैडिहाबाट आउने गरेका त्यस्ता खाने तेलको ७ वटा ब्राण्डलाई चेकजाँच गराउन खाद्य गुणस्तर कार्यालय नेपालगन्जमा पु¥याइएको छ ।
रुपैडिहाबाट आउने गरेको खाने तेलको चेकजाँचको विषयमा जमुनाहा प्रहरीका इन्चार्ज बसन्त बस्नेतले चासो राख्नु अहिले आशंकाले हेर्न थालिनुको साथै अख्तियारको समेत गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । अख्तियारका एक अधिकृतले फोनमा कुरा गर्दै भने–‘जमुनाहा प्रहरी होस् वा कुनै पनि सरकारी कार्यालयका इन्चार्ज किन नहोस, आफुले पाएको जिम्मेवारी अनुसार काम गर्नु पर्छ । खाद्य गुणस्तरको के रिपोर्ट आउँछ, हेरौं । रिपोर्ट चित्त नबुझे हामी आफ्नो निगरानीमा नेपालगन्ज र काठमाडौंमा पुनः चेकजाँच गर्नेछौं ।’
जमुनाहा प्रहरीले खाद्य गुणस्तरमा चेकजाँचको लागि दिएको ७ वटा खाने तेल नमुनाको रिपोर्टको विषयमा खाद्य गुणस्तर नेपालगन्जका अधिकृत नेत्रा खड्का भन्छन्–‘रिपोर्ट आउन अझैं ३–४ दिन लाग्छ । नेपाल सरकारको मापदण्डभित्र नपरेका ब्राण्डको तेल खाने योग्य हुँदैन । तर व्यापारी वा व्यक्ति विशेषले आयात गर्ने बेला जति सुकै परिमाण भएपनि हरेक पटक तेलको चेकजाँच पश्चात मात्र भन्सार महसुल लिनु पर्छ ।
अहिले यो हल्लाका कारण भन्सार कार्यालयको यात्रु शाखा र मुल गेट चेकजाँचमा बसेका कर्मचारीहरु अन्यौलमा पर्नुका साथै सशस्त्र प्रहरी ३० नं. गणको चौलिक्का चेकप्वाइन्टका कर्मचारीहरु अन्यौलमा परेका छन् । खाद्य गुणस्तरको रिपोर्ट नआउँदै खाने योग्य भनी हल्ला फैलाएको विषयमा समेत अख्तियारले चासो राख्ने बताएको छ भने भन्सार कार्यालयको चेक प्वाइन्टमा खटिएका कर्मचारीले लिखित नआउँदासम्म कुनै पनि ब्राण्डमा तेल फिर्ता पठाउने बताएको छ ।




प्रतिक्रिया