म्यानपावर व्यवसायीले दिए सरकारलाई तिन महिने अल्टिमेटम

म्यानपावर व्यवसायीले दिए सरकारलाई तिन महिने अल्टिमेटम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कामाडौं – सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुको सम्पूर्ण माग सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी दिएको छ । संघका अध्यक्ष रोहन गुरुङले आफूहरुको माग ३ महिना भित्र पनि सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।

संघले आफूहरुको माग सम्बोधन गराउन सरकारलाई दवाव दिँदै गत जेठ १७ गतेबाट २३ गतेसम्म एक हप्ता वैदेशिक रोजगारीमा नेपालीहरुलाई जान प्रतिबन्ध लगाएको छ । त्यसै कार्यक्रम अन्तरगत सोमबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका अध्यक्ष गुरुङले ‘फ्रि भिसा, फ्रि टिकट’ लगायतका निर्णयमा पुनर्विचार नगरे आफ्नो पेशा, व्यवसायनै छाडेर सरकारविरुद्ध कडा आन्दोलनमा जानुपर्ने अवस्था आउने स्पष्ट पारे ।

उनले सरकारले धरौटी राखिएको आफ्ना पैसाको ब्याज नदिएको, मलेसियामा जान लगाइएको प्रतिबन्ध फुकुवा नगरेको तथा वैदेशिक रोजगार कम्पनीहरु मर्ज गर्दा सुविधा दिनुपर्ने आफूहरुको माग बेवास्ता गरेपछि सरकारविरुद्ध आन्दोलनमा उत्रनु परेको पनि बताए ।

संघका अध्यक्ष गुरुङले वार्षिक ५ लाखभन्दा बढि नेपाली युवाहरुलाई वैदेशिक रोजगारको व्यवस्था गरेपनि सरकारले आफूहरुको कामको सम्मान गर्न नसकेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

यता, नेपाल राष्ट्र बैंकले भने वैदेशिक रोजगारमा जान रोकावट गर्ने नेपाल वैदेशिक रोजगार संघको निर्णयले नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको जनाएको छ ।