सेनाको हेलिकप्टर गस्तीमा पठाउने गृहको तयारी

सेनाको हेलिकप्टर गस्तीमा पठाउने गृहको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सोलुखुम्बु जिल्लाकोे महाकुलुङस्थित एक प्रहरी चौकीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले आक्रमणको प्रयास गरेपछि केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ ।

सोमबार गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारीलगायत सहभागी थिए । तर, गृह प्रवक्ता रामकृष्ण सुवेदीले बैठक नियमित भएको र सुरक्षाको समसामयिक विषयमा सुरक्षा प्रमुखले गृहमन्त्रीलाई रिपोर्टिङ गरेको जानकारी दिए ।

विप्लव समूहले आक्रमण प्रयास गरेपछि सोलुखुम्बुका प्रहरीले नेपाली सेनासँग हेलिकप्टर मागेको छ । सोलुखुम्बुमा हवाई गस्तीका लागि प्रहरीले सेनाको एमआई–१७ हेलिकप्टर मागेको हो । उक्त हेलिकप्टर तयारी अवस्थामा राखिएको सैनिक स्रोतले जनायो । अहिले काठमाडौं र विराटनगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली सोलुखुम्बु पुगेको छ ।

आइतबार राती हतियारसहित आएका २५–३० जना विप्लव कार्यकर्ताले महाकुलुङ–३ छेस्काममा रहेको प्रहरी चौकीमा आक्रमण प्रयास गरेका थिए । तर, विप्लव समूहले आक्रमणको योजनाबारे थाहा पाएपछि प्रहरी चौकीमा रहेका सात जनाको प्रहरी टोली त्यसअघि नै हतियारसहित सुरक्षित स्थानतर्फ गइसकेको थियो ।