छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – करिब १७ घण्टाको अवधिमा भएका ७ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो १२ बजेदेखि मंगलबार बिहान ५ बजेसम्मको सो अवधिमा रसुवा, गुल्मी, कञ्चनपुर, काभ्रे, अछाम र संखुवासभामा भएका दुर्घटनामा ९ जनाको मृत्यु भएको हो ।

दुर्घटनामध्ये रसुवाको कालिका गाउँपालिका–४ स्थित सडकमा बा.१० च ५८२० नम्बरको जिप सडकबाट करिब सय मिटर तल त्रिशुली नदीमा खस्दा गम्भीर घाइते भएका आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय नोर्बु तामाङ, ३२ वर्षीया साहिली घले र ३५ वर्षीया मेन्दु घलेको जिल्ला अस्पताल नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका चालक समेत अन्य ५ जनालाई थप उपचारको लागि ग्रिन सीटी अस्पताल धापासी काठमाडौं रिफर गरिएको छ । दुर्घटनामा बेपत्ता भएका आमाछोदिङ्मो गाउँपालिका–४ का ४८ वर्षीय पासाङदे घले, १९ वर्षीया कामी याङजेन तामाङ र २० वर्षीया त्लेतङ घले समेत ३ जनाको प्रहरीले खोजी गरिरहेको छ । उक्त जिप पोखराबाट गोल्जुङ रसुवातर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको थियो ।

यसैगरी गुल्मीको रेसुङगा नगरपालिका–७ स्थित सडकमा ल.१ त ३३९३ नम्बरको ट्याक्टर सडकबाट करिब २ सय ५० मिटर तल खस्दा सहचालक मदाने गाउँपालिका–६ बस्ने २१ वर्षीय मधु नेपालीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते अन्य २ जनाको रेसुङ्गा अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिका–६ स्थित सडकमा लु.१ त ८८१ नम्बरको ट्याक्टर र ल.१ स २८९९ नम्बरको अटो एकआपसमा ठक्कर खाँदा अटोमा सवार सोहि नगरपालिका–२ का २८ वर्षीय भुवन पाण्डेको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी मृतक पाण्डेको ८ वर्षीया छोरी किन्जल पाण्डेको अञ्चल अस्पताल महाकालीमा उपचार भइरहेको छ । दुबै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी काभ्रेको रोशी गाउँपालिका–६ स्थित सडकमा बा।४ ख ५२३७ नम्बरको मिनि ट्रक र बा.९५ प ७६८६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार सुनसरी गढी गाउँपालिका–२ का १८ वर्षीय अमिन साफीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २५ वर्षीय नजिर साफीको मेथिनकोट अस्पताल भकुण्डेबेशीमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी अछामको मेल्लेख गाउँपालिका–६ स्थित सडकमा से।२ त १२१६ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका सोहि स्थान बस्ने डम्मर बोहराको ४ वर्षीय छोरा सुशील बोहराको बयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी संखुवासभाको धर्मदेवी नगरपालिका–३ स्थित सडकमा रोकी राखेको ना.३ ख २१३२ नम्बरको ट्रकबाट लडेर बेहोश भएका सहचालक झापा शिवसताक्षी नगरपालिका–१० का ५० वर्षीय सार्की बहादुर योङहाङ लिम्बुको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।