काठमाडौंँ— सरकारले चालू आर्थिक वर्षमा नेपाल गुणस्तर तथा नापतौलको मापदण्ड विपरीत सञ्चालित राजधानी काठमाडौं र काभ्रेका पाँचवटा पेट्रोल पम्प र उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।
नेपाल गुणस्तर तथा नापतौल कार्यालयले मैतीदेवीमा रहेको मैतीदेवी पेट्रोलियम सप्लायर्स, चाबहिलमा रहेको चुच्चेपाटी फ्युल सेन्टर, गोठटारमा रहेको भद्रकाली आयल स्टोर, सानोभर्याङमा रहेको न्यू बङ्गलामुखी आयल स्टोर्स र काभ्रेमा रहेको माः पलाञ्चोक धन्द्रे भीमसेन बेकरी उद्योगविरुद्ध मुद्दा दायर गरेको हो।
कार्यालयले अनुगमनका क्रममा मापदण्ड विपरीत पेट्रोल पम्प तथा उद्योग सञ्चालन गरेकाले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको कार्यालयका प्रमुख उपसचिव राकेशकुमार झाले जानकारी दिए।
मुद्दा दर्ता भएका पेट्रोल पम्प तथा उद्योग दोषी ठहरिएमा मैतीदेवी, चुच्चेपाटी र बङ्गलामुखी पेट्रोल पम्पले ३० हजार जरिवाना र तीन वर्ष कैदका साथै भद्रकाली आयल स्टोर्स र बेकरी उद्योगले १० हजार जरिवाना र एक वर्ष कैद सजाय भोग्नुपर्नेछ ।




प्रतिक्रिया