नेपाली ‘स्याटेलाइट’ पृथ्वीमा घुम्न थाल्यो, दिनमा ४ पटक नेपाली आकाशमा घुम्ने  

नेपाली ‘स्याटेलाइट’ पृथ्वीमा घुम्न थाल्यो, दिनमा ४ पटक नेपाली आकाशमा घुम्ने  


 काठमाडौं – चन्द्रसूर्यसहितको राष्ट्रिय झन्डा अंकित नेपालको पहिलो भूउपग्रह ‘नेपालीस्याट–वान’ ले अन्तरीक्षमा चक्कर लगाउन थालेको छ । अन्तर्रा्ष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस)बाट नानो भूउपग्रह अन्तरीक्षमा छोडिएको हो ।

गत वैशाख ५ मा अमेरिकाबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको नानो स्याटेलाइटले सफलतापूर्वक पृथ्वीको परिक्रमा सुरु गरेको हो । सोमबार दिउँसो ४ बजेर १९ मिनेटबाट नानो स्याटेलाइट ‘नेपालीस्याट–१’ अन्तरीक्षमा रिलिज हुँदै पृथ्वीको वरपर घुम्न सुरु गरेको नासाले जनाएको छ ।

जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टीच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको यो स्याटेलाइट वैशाख ५ गते राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिएको थियो । यसलाई इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार पारेका हुन् ।

अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट प्रक्षेपण भएको थियो ।

यो स्याटेलाइट १० सेन्टिमिटर लम्बाई, चौडाई र उचाई भएको छ । स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम पनि छ । यो एक किलो तीन सय ग्राम तौलको छ । यसमा सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्चेको छ ।

प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउने यो भूउपग्रहले दैनिक १६ पटक पृथ्वीका परिक्रमा गर्नेछ । त्योमध्ये दैनिक चार पटक नेपालको आकाशमा आइपुग्नेछ ।