पाँच वर्षमा मनसुनजन्य विपदबाट १६११ को गयो ज्यान

पाँच वर्षमा मनसुनजन्य विपदबाट १६११ को गयो ज्यान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मुलुकभर विपद्को घटनाबाट मानिसको मृत्यु हुने र ठूलो संख्यामा धनजनको क्षति हुने क्रम बढ्दो छ । सरकारले विपद् व्यवस्थापनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसक्दा विपद्मा परी मानिसहरुको ज्यान जाने क्रम बढेको हो ।

यसपटक पनि मुलुकमा मनसुन सुरु भइसकेको छ । पछिल्लो पाँच वर्षमा मात्रै विपद्बाट १ हजार ६ सय ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार विपद्का कारण औसत ६ सयको मृत्यु हुने गरेको छ ।

यो वर्ष पनि मनसुनको सुरुवातसँगै विपद्जन्य प्रकोपबाट मानिसको मृत्यु हुने क्रम सुरु भएको छ । पछिल्लो एक महिनाको तथ्यांक हेर्ने हो भने पनि विपद्का कारण ३२ जनाले ज्यान गुमाइसकेका छन् । एक महिनाको अवधिमा सबैभन्दा बढी चट्याङका कारण २१ जनाले ज्यान गुमाए भने हाइ अल्टिच्युटका कारण ४, जनावरको अक्रमणबाट ३, पहिरो र हावाहुरीबाट २–२ जनाले ज्यान गुमाएका छन् । पछिल्लो एक सातको अवधिमा मात्रै चट्याङबाट ६ जनाले ज्यान गुमाए भने भारी वर्षाका कारण एकजनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ ।

गृहका अनुसार विपद् व्यवस्थापनका नाममा पछिल्लो पाँच वर्षमा मात्रै सरकारी र गैरसकारी संस्थाले झन्डै २५ अर्ब बढी खर्च गरिसकेका छन् तर त्यसरी गरिएको खर्चको उपलब्धि भने निकै न्यून देखिएको गृहका अधिकारीकै स्वीकारोक्ति छ । मनसुनको अवधिमा विशेषगरी पहिरो, बाढी, भारी वर्षा, चट्याङ, हाइ अल्टिच्युट र हावाहुरीका कारणले मानिसहरुको ज्यान जाने गरेको पाइएको छ । यो समाचार राजधानी दैनिकमा छ ।