गुल्मी – सत्यवति गाउँपालिकाका दुई स्थानमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । अझै एक जना बेपत्ता छन् । सत्यवति गाउँपालिका–४ को लिम्घामा पहिरोमा बेपत्ता भएका डेढ बर्षीय बालक सञ्जु विक र वडा नं ३ को ठुलोलुम्पेकमा पहिरोमा बेपत्ता माया र बवि विकको शव बुधबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलले बताउनु भयो ।
लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छलि विक र सिवानी विक तथा ठुलोलुम्पेकमा तिल कुमारी र छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो । पहिरोमा घाइते भएका ठुलोलुम्पेकका करिष्मा र धनी तरामुलाई दुई दिन पछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले हेलिकप्टर मार्फत उपचारको लागि काठमाण्डौ लगिएको शसस्त्र प्रहरी प्रहरी नायव उपरिक्षक दिनेश रायमाझीले बताउनु भयो ।
लिम्घामा अझै सात बर्षीय तारा विक बेपत्ता छन् । पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि बुधबार साँझ हेलिकप्टर मार्फत केहि राहत पहिरो प्रभावित क्षेत्रमा पठाएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो । सडकको कुनै बिकल्प नभएपछि हेलिकप्टरले २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठुलोलुम्पेकमा छोडेको पौडेलले बताउनु भयो ।
उहाँले मन्त्रीहरुसंग सल्लाह गरेर बिपत व्यावस्थापन महाशाखा मार्फत हेलिकप्टरले पोखराबाट राहत लिएर आएको बताउनु भयो । मंगलबार पनि परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्दै लिम्घामा केहि राहत र व्यावस्थापनका सामग्री हेलिकप्टर मार्फत छाडेर गएका थिए ।
पहिरो प्रभावित क्षेत्र सत्यवति गाउँपालिकाका सडकहरु अबरुद्ध हुँदा राहत वितरणमा समस्या देखिएको छ । यो खबर आजको समाचारपत्रमा छ ।




प्रतिक्रिया