काठमाडौं – विश्व प्रतिस्पर्धात्मक राजनीतिमा प्रवेश गरेको धेरै वर्ष भए पनि उत्तरी छिमेकी मुलुक चीन अझै एकदलीय कम्युनिस्ट शासन व्यवस्थामै छ। माओको सांस्कृतिक क्रान्तिसँगै एकदलीय कम्युनिस्ट शासन व्यवस्थामा रमाउँदै आए पनि तीव्रतर आर्थिक विकाससँगै चीनले आफ्नो पुरानो नीतिलाई विस्तारै परिवर्तन गर्दै आएको छ। बन्द राजनीतिभित्रैबाट मुलुकको आर्थिक विकास फड्को मारेको उसले आफूलाई विश्वमा अमेरिकापछिको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देशको सूचीमा उभ्याएको छ।
आफ्नो देशको उत्पादनबाहेकका वस्तु प्रयोग र प्रवेशमा रोक लगाएको चीन अहिले आफूले गरेको आर्थिक विकास र समृद्धिबारे विश्वलाई देखाउन आतुर छ। उसले गरेको आर्थिक विकासका विषयमा रुचि राखेर त्यहाँ पुग्नेको संख्या कम छैन। त्यसको पछिल्लो उदाहरण हो संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय। उक्त मन्त्रालयबाट पछिल्लो एक वर्षमा विदेश भ्रमण गर्ने एक सय ६७ कर्मचारी र जनप्रतिनिधिमध्ये एक सय दुईजनाले चीनको मात्र भ्रमण गरेका छन्। यसरी भ्रमण गर्ने संघीय मामिला मन्त्रालयका कर्मचारी मात्र होइनन्, अन्य मन्त्रालयका साथै भारत, बंगलादेशसहित अन्य देशका नागरिक पनि उस्तै छन्।
माओको सांस्कृतिक क्रान्तिसँगै सन् १९४९ मा जब चिनियाँ कम्युनिस्ट पार्टीले चीनमा सत्ताकायम गरेदेखि देङ सियाओ पिङअघिसम्म चीन बन्द थियो। जब देङले चीनको खुला नीति अख्तियार गर्दै लगानीका लागि बाह्य संसारलाई आह्वान गरेपछि चीनको समृद्धिको शिखरतर्फ लम्किएको हो। आज चीन विश्वका नागरिकलाई लगानीका लागि होइन आफू र स्वशाशित क्षेत्र तिब्बतले गरेको आर्थिक विकास देखाउन चाहन्छ। हिजो चीन र तिब्बत के थियो र अहिले के छ भन्ने देखाउन चाहन्छ चिनियाँ सरकार।




प्रतिक्रिया