उपरथी शाही अवकासमा, सिग्देल र भण्डारी उपरथीमा बढुवा सिफारीस 


काठमाडौं– नेपाली सेनाका उपरथी समिर शाही उपरथीबाट अवकास हुने भएका छन् । सेनाको पुर्वी पृतनामा पृतनापति रहेका शाहीलाई बिदामा वस्न प्रधानसेनापति पूर्णचन्द्र थापाले पत्र पठाएको सैनिक स्रोतले जानकारी दियो । उपरथी शाहीले उमेर हदका कारण अवकास पाएका हुन् । २०१९ भदौ ३ गते जन्मिएका शाहीको ५७ वर्षे उमेर हदका कारण उपरथीबाटै अवकास पाएका हुन् ।  

सेनामा उमेर भएको अवस्थामा उपरथीको तीन वर्षे कार्यकालपछि पनि प्रधानसेनापतिले दुई वर्ष पदावधी थप्ने नियम छ । उनको उपरथीको तीन वर्षे पदावधी यही भदौ ४ गते सकिदैछ । 

शाही २०३९ सालमा सेनामा सैनिक अधिकृतका रुपमा भर्ना भएका हुन् । उनले पाकिस्तानबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन् । प्रधानसेनापतिको दावेदार मानिएका उपरथी शाहीले तीन तारे नहुंदै अवकास पाएका हुन् । उनको ठाउंमा पृतनापतिको जिम्मेवारी उपरथी अनन्त कार्कीलाई दिइएको छ । 

हाल रथी  रहेका गौरव तण्डुलको रथीमा बढुवा भएसंगै उनको तीन तारे बन्ने बाटो वन्द भएको थियो । टण्डुलको तीन तारेमा बढुवा नुहने चर्चा भएपनि अन्तिममा प्रधानसेनापति थापाले उनलाई तिन तारेमा बढुवा सिफारीस गरेका थिए । 

उपरथी शाहीको अवकाससंगै सेनाले दुई जना सहायकरथीलाई उपरथीमा बढुवा सिफारीस गरिएको छ । सहायकरथीहरु अशोक सिग्देल र गोकुल भण्डारी उपरथीमा बढुवा सिफारीस भएका हुन् ।  हाल पोखरामा पृतनापति रहेका उपरथी काजी खत्रि पनि आगामी असोज ३ मा अवकासमा जान लागेकाले उनको ठाउंमा समेत सेनाले बढुवा प्रक्रिया अघि बढाएको हो । 

प्रधानसेनापति पुर्णचन्द्र थापाले सरकारको स्विकृती लिएर उजुरी र सुचनाको समयाअवधी घटाउंदै बढुवा प्रक्रियालाई तिव्र गतिमा अघि बढाएका हुन् । यसअघि दरबन्दी रिक्त हुंदा पनि लामो समयसम्म बढुवा प्रक्रिया सुरु नहुने र त्यसले उच्च अधिकृतको वृति विकासमा असर पर्ने गरेको गुनासो सेनामा रहंदै आएको थियो । 

तर, सेनापति थापा आएसंगै उनले दरबन्दी रिक्त हुन नदिने गरी बढुवा प्रक्रिया अघि बढाएका हुन् । सेनामा कुनै पनि अधिकृतले अवकास पाएसंगै अर्को अधिकृतको बढुवा भइसक्ने गरी प्रक्रिया अघि बढेको हो । 

प्रतिक्रिया दिनुहोस
Advertisement