काठमाडौं– नेपाली सेनाले पृतनापति सम्मेलन बोलाएको छ । सेनाको पृतनापति सम्मेलन शुक्रवारबाट काठमाडौंमा सुरु हुंदैछ । तीन दिनसम्म काठमाडौंमा चल्ने सम्मेलनमा आठ वटै पृतनाका पृतनापति काठमाडौं पुगिसकेका छन् ।
पृतनापति सम्मेलनमा पुर्वी पृतनापति उपरथी अनन्त कार्की, मध्यपुर्वी पृतनापति नरेशचन्द्र भट्ट,मध्य पृतनापति ताराध्वज पाण्डे, उपत्यका पृतनापति निरन्जन श्रेष्ठ,पश्चिम पृतनापति काजिबहादुर कार्की, उत्तरपश्चि पृतनापति सरोजप्रताप राणा,मध्यपृतनापति सिताराम खड्का र सुदुरपश्चिम पृतनापति बालकृष्ण कार्कीसहित पिएसओज सहभागी हुंदैछन् ।
नेपाली सेनाले प्रत्येक वर्ष पृतनापति सम्मेलन बोलाउने गर्दछ । सेनापतिको एक वर्ष कार्यकाल पुग्दै लाग्दा सेनाले यसपटक पृतनापतिको सम्मेलन बोलाएको हो ।
सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डले प्रधानसेनापतिको निर्देशनमा सैनिक मुख्यालयले पृतनापतिहरुको तीन दिने सम्मेलन आयोजना गर्न लागेकोे बताए । ‘यो हाम्रो नियमित सम्मेलन हो । सम्मेलनमा पृतनापतिहरुले आफ्नो क्षेत्रको वस्तुस्थिती र समस्याहरुको वारेमा रिपोर्टिङ्ग गर्नुहुन्छ । ’ प्रवक्ता पाण्डेले काठमाडौंपाटीसंग भने ।
सम्मेलनमा वर्तमान सुरक्षा चुनौती र भावी रणनीतिका बारेमा छलफल हुनुका साथै प्रधानसेनापतिले आफ्नो एक वर्षे कार्यकालमा लागु गरेका नितीहरुको बारेमा समेत समिक्षा हुनेछ ।
सेनापति थापाले पृतनापति सम्मेलनमा आफ्ना भावी योजना समेत घोषणा गर्ने र त्यसलाई कडाईका साथ लागु गर्न निर्देशन दिने सम्भावना रहेको सैनिक स्रोतको दावी छ ।




प्रतिक्रिया