काठमाडौं— राष्ट्रिय जनता पार्टीका सांसद एकबाल मियाँले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रोक्न षडयन्त्र भइरहेको बताएका छन् ।
‘८ वटा स्थानको अध्ययन पश्चात सबैभन्दा उपयुक्त निजगढ नै देखिएपछि निर्माणको प्रस्ताव गरिएको हो,’ मधेस इनोभेसन थिङ ट्यांक र भर्टेक्स टेक्नोलोजी सोलुसनले बुधबार राजधानीमा आयोजना गरेको निजगढ अन्तराष्ट्रिय विमानस्थलसम्बन्धी अन्तक्र्रियमा उनले भने, ‘ अहिले विभिन्न अफवाह फैलाएर रोक्ने षडयन्त्र भइरहेको छ ।’ मियाँ बाराबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन ।
वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा साना–ठूला गरी २४ लाख रुखबिरुवा काट्नु पर्ने उल्लेख छ ।
तर, सरकारले पछिल्लो पटक विमाननस्थलका लागि १३ देखि १६ सय हेक्टरका रुखविरुवा मात्र काट्नुपर्ने बताइरहेको छ । सांसद मियाँले पनि विमानस्थल बन्नुपर्छ भन्नेमा सबै एकमत हुनुपर्ने उल्लेख गर्दै केही लाख मात्र रुख कटान हुने बताउँछन् । उनले भने, ‘अलमलमा नपरौं टागिया बस्तीको वरपर ठूला रुख छैनन्, विकास रोक्नु हुँदैन ।’
वन प्राविधिक संघका बारा अध्यक्ष राजेन्द्रप्रसाद यादवले पनि अहिले प्रताव गरिएको क्षेत्रभन्दा २ किलोमिटर दक्षिणतिर सारेर विमानस्थल बनाइनुपर्ने बताए । उनले भनेझैँ संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पनि स्मार्ट सिटी नबनाउन र विमानस्थल प्रस्तावित क्षेत्रबाट केही किलोमिटर दक्षिणतिर सार्न सरकारलाई निर्देशन दिइसकेको छ । सन् १९९७ मा त्रिभुनव विमानस्थलको विकल्पकारुपमा अघि बढाउनुपर्छ भनेर यकिन भएको आयोजनालाई अघि बढाउन सरकारले छिटोभन्दा छिटो मोडालिटीबारे निर्णयमा पुग्न आवश्यक रहेको कार्यक्रमका सहभागीहरुले बताए ।
वातावरण विज्ञ गोविन्द साहले विमानस्थलको मुख्य साझेदार प्रदेश २ सरकार रहेकाले सहकार्य गर्नुपर्ने बताए। १६ सय हेक्टरमा विमानस्थल बन्ने भए २४ लाख रुख काट्न आवश्यक नरहेको उल्लेख गर्दै उनले कमभन्दा कम क्षतिमा विमानस्थल बनाउनुपर्ने सुझाए। सरकारले आफैँले तोकेको संरक्षित क्षेत्रलाई आफैँले नास गर्न खोजेको उनको धारणा छ। तर यादवको तर्क भने फरक छ । उनका अनुसार विमानस्थल बन्ने भनेर नै सरकारले पर्सा राष्ट्रिय निकुञ्जको दायरा फराकिलो गरेको हो ।
पूर्वक्षेत्रीय वन निर्देशक समेत रहेका यादवले भने, ‘जहाँ विकास हुन्छ त्यहाँ अतिक्रमण हुन्छ । विमानस्थल बन्दा नजिकैको जंगल अतिक्रमणमा पर्न सक्ने भएकाले निकुञ्ज क्षेत्र विस्तार गरिएको हो, ताकि अतिक्रमण नहोस् ।’ उनका अनुसार निकुञ्ज क्षेत्रमा सेना समेत परिचालन हुने र तारबार हुने भएकाले अतिक्रमण हुँदैन, जसले गर्दा जंगलमा रहेका वन्यजन्तु र चराचुरुङ्गी त्यही निकुञ्ज क्षेत्रमा सुरक्षित हुनेछन् ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकीले वातावरण संरक्षणका लागि सरकारले गरेका अन्तर्राष्ट्रिय प्रतिवद्धता भुल्न नहुने बताए। बाराको उत्तरतिर निकुञ्ज र दक्षिणतिर विमानस्थल बन्दा हात्तीसहितका वन्यजन्तुलाई असर पुग्ने उनको भनाइ छ । विमानस्थल बनाउने नै भए समस्या समाधान गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
भर्टेक्स टेक्नोलोजी सोलुसनका सिइओ आनन्द सिंहले विमानस्थलका बारेमा फरकफरक धारणा रहेकाले भ्रम चिर्न कार्यक्रमको आयोजना गरिएको बताए। ‘हल्लामा नरही तथ्यमा रहेर अगाडि बढ्नुपर्छ । त्यसैले विज्ञहरुसँग छलफल गरिएको हो,’ उनले भने ।
कार्यक्रममा जलस्रोत विज्ञ कृष्णचन्द्रप्रकाश साह, नेपाल वातावरण पत्रकार समूहका पूर्वअध्यक्ष अर्जुन ढकाल लगायतले धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन भर्टेक्स टेक्नोलोजी सोलुसनका टेक्निकल चिफ भावना बमले गरेकी थिइन्।




प्रतिक्रिया