बसपार्कहरूमा सादा पोशाकका प्रहरी, बढी भाडा लिए तत्काल खबर गर्नुस्

बसपार्कहरूमा सादा पोशाकका प्रहरी, बढी भाडा लिए तत्काल खबर गर्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडबाडको समयमा लामो दूरीका सवारीसाधनमा बढी भाडा असुल्ने सवारीसाधनलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्ने भएको छ।

हरेक वर्ष दशैं र तिहारमा काठमाडौं बाहिर जाने सवारीसाधनले बढी भाडा लिने गरेको व्यापक गुनासो आउन थालेपछि यो वर्षदेखि कडाइ गर्न थालेको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बढी भाडा लिने सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताउँदै भने– ‘बसपार्कमा सादा पोशाकका ट्राफिक प्रहरी परिचालन गरिसकेका छौं। यदि कसैले बढी भाडा लिएको प्रमाण फेला पारे तत्काल कारबाही गर्छौँ ।’

विशेष गरी बल्खु हुँदै हेटौंडा, वीरगन्ज, सिमरा, निगजढ र कोटेश्वर हँुदै पूर्व जाने साना सवारीसाधनले बढी भाडा लिने गरेको गुनासो आउने गरेको महाशाखाले जनाएको छ। टिकटअनुसार मूल्य लिएको छ कि छैन भनी चेकजाँच गर्ने र उल्लंघन गरेमा कारबाही गरिने महाशाखाले जनाएको छ। तर, अधिकांश काउन्टरमा हालसम्म भाडादर टाँसेको पाइएको छैन।

प्रहरीले भीडभाड हुने स्थल र टिकट काउन्टरहरूमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सादा पोशाकमा समेत प्रहरी परिचालन गरी निगरानी बढाउन शुरू गरिएको एसएसपी ढकालले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ।