काठमाडौं– जाजरकोटमा अवस्थित ४ सय १७ मेगावाटको नलसिंहगाड जलविद्युत परिआयोजना अघि बढ्ने भएको छ । जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र जापानी विकास नियोग (जाइका) का कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच बिहिवार भएको भेटवार्तामा उक्त परियोजनालाई अघि बढाउने विषयमा सहमति भएको हो ।
मन्त्री पुनले उक्त परियोजनालाई अघि बढाउने विषयमा बुधवार जापानका संसदीय, परराष्ट्र, उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका ईता र जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइसंग छलफल गर्नुभएको थियो ।
भेटवार्तामा उर्जामन्त्रालयका सहसचिव तोया अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका उच्च अधिकारी सहभागी थिए । उर्जामन्त्री पुनले जाइकाले पिपिपि मोडेलमा उक्त आयोजना अघि बढाउने गरी प्रस्ताव गरेको जानकारी दिनुभयो । उहांकाअनुसार उक्त परियोजनालाई जाइकाले उच्च प्राथमिकतामा राखेको छ ।

जापानमा जलविद्युतको क्षेत्रमा काम गर्ने २५ कम्पनीका प्रतिनिधि र १ सय सहभागीलाई नेपालको उर्जा र जलविद्युत क्षेत्रको अवस्थाबारे जानकारी दिनुहुंदै उर्जामन्त्री पुन ।
‘जाइकासंगको छलफल अत्यन्तै सकरात्मक भएको छ, डिपिआरको अध्ययनलगत्तै परियोजनालाई अघि बढाउने गरी पहल थाल्ने प्रतिवद्धता जनाउनुभएकोले पनि चांडै यसले मूर्त रुप पाउनेमा म आशावादी छु ।’ मन्त्री पुनले भन्नुभयो ।
त्यसका साथै छलफलको क्रममा जाइकाका उपाध्यक्ष कोशिकावाले नेपालको उर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । भेटमा मन्त्री पुनले नेपालमा हाल पांच वर्षको लागी स्थायी सरकार रहेको भन्दै थप लगानीका लागी आग्रह गर्नुभयो । उहांले नेपालमा जलविद्युतको बजार समेत सुरक्षित रहेको र नाफा समेत सजिलै लिन सकिने अवस्था सरकारले बनाएको दावी समेत गर्नुभयो ।
मन्त्री पुनले कुलेखानी जलाशययुक्त आयोजना र कन्काई सिंचाइ आयोजनामा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । आगामी १० वर्षमा नेपालले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादित विजुली बेच्नका लागि भारत र बंगलादेशसंग सम्झौता भइसकेको मन्त्री पुनको भनाई थियो । उहांले उत्पादित विजुलीको लागी आन्तरीक र बाह्य बजार बनाउन सरकार सक्षम रहेको धारणा समेत राख्नुभयो ।
जापानमा जलविद्युतको क्षेत्रमा काम गर्ने २५ कम्पनीका प्रतिनिधिले भेटे उर्जामन्त्री
मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न समेत आग्रह गर्नुभएको छ । चार दिने जापान भ्रमणमा रहेका मन्त्री पुनले २५ भन्दा बढी कम्पनीका प्रतिनिधी र १ सय सहभागी भएको अन्र्तक्रिया कार्यक्रममा नेपालको जलविद्युत क्षेत्रमा लगानीको लागी सरकारले उपयुक्त वातावरण बनाएको भन्दै नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । कार्यक्रममा मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपाली लगानीकर्तासरह सुविधा दिने घोषणा समेत गर्नुभएको छ ।
उहाले भन्नुभयो ‘तपाईहरुले नेपालमा लगानी गर्नुभयो भने हामिले नेपाली लगानीकर्तासरह नै सुविधा दिन्छौ । उत्पादित विजुली पनि हामीले नै खरिद गर्छौ,बजारको पनि चिन्ता नगर्नुहोस् ।’
मन्त्री पुनले उत्पादकले चाहेमा छिमेकी देशमा बेच्ने वातावरण समेत बनाइदिने प्रतिबद्धता जनाउनुभएको थियो । अन्तरक्रियामा जापानमा जलविद्युतको क्षेत्रमा काम गरिरहेका तोसिबा, कान्साई,टोकियो ईलेक्ट्रोनिक्स, न्युजेक ईलेक्ट्रोनिक्सलगायत कम्पनी सहभागी थिए । कार्यक्रमको संयोजन समेत जाइकाले गरेको थियो ।




प्रतिक्रिया