काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच काठमाडौंमा भएको ६ बुँदे सहमति हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली उभिनुले उक्त सहमति नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच मात्रै नभएर नेपाल र चीन सरकारबीच भएको जस्तो देखिएको बताउँदै गम्भीर आपत्ति जनाएका छन् ।
पूर्वमन्त्री समेत रहेका नेता केसीले प्रशिक्षण कार्यक्रममा नेकपाका नेताहरुले चिनियाँ नेताहरुबाट गायत्री मन्त्र सुनेको ढंगले कुरा सुनेको टिप्पणी गरेका हुन् ।
बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा उनले पार्टी–पार्टीबीचमा भाइचारा सम्बन्ध राख्नु स्वभाविक भएको सुनाए । ‘पार्टी–पार्टीबीच भाइचारा सम्बन्ध स्थापित हुनुलाई हामीले साधारण रुपमै लिएका छौं’, उनले अगाडि थपे, ‘चिनियाँ कम्युनिष्ट पार्टीसँग नेपाली कांग्रेसको पनि भाइचारा सम्बन्ध छ । हामी त्यो सम्बन्धलाई जहिलेपनि उच्चतम रुपबाट सम्मान गर्छौं । तर, कुरा अहिले के आईरहेको छ भने सी जिनपिङ विचाराधाराको प्रवेश जसरी नेपालमा भएको छ, त्यो प्रवेश स्वयममा आश्चर्यजनक रुपमबाट भएको छ । ६ बुँदे सम्झौता जुन भयो । त्यो पार्टी र पार्टीको बीचमा भन्दापनि एउटा सरकार र अर्को सरकारबीच भएको सम्झौताको रुपमा त्यहाँ प्रधानमन्त्री उभिनुभएको छ । प्रधानमन्त्री नेकपाको मात्रै अधयक्ष होईन । मेरो देशको प्रधानमन्त्री, मेरोपनि प्रधानमन्त्री हो । त्यो हस्ताक्षर चीन र नेपालबचिको हस्ताक्षरजस्तो देखियो ।’
उनले उक्त प्रशिक्षण कार्यक्रममा नेकपाको तर्फबाट एउटा कार्यपत्र प्रस्तुत नभएकोमा पनि आपत्ति जनाए । उनले भने,‘त्यहाँ नेकपाको तर्फबाट एउटा कार्यपत्र प्रस्तुत भएर हामी कम्युनिष्ट हौं । हाम्रो कम्युनिष्ट व्यवस्था र पद्धती बहुदलीय प्रतिष्पर्धात्मक पद्धतीमा छ भनेर भनेको भए, त्यो बहुदलीय पद्धती र सी विचाराधारा कहाँसम्म मेल खान्छ ? त्यो बाटो खुल्ने प्रयत्नभन्दापनि कार्यपत्र उनीहरुको प्रस्तुत भयो । हाम्रा साथीहरु सुनेर बस्नुभयो । त्यसको अर्थ अब सी जिनपिङ विचारधाराको एकदलीय पद्धती कम्युनिष्टसँग हाम्रा कम्युनिष्ट पार्टी जान लाग्या हुन त ? यो अत्यन्त गम्भीर प्रश्नको रुपमा छ । किनभने एकातिर लोकतन्त्रको आवरणमा नेकपाले अहिले सम्पूर्ण सत्ता केन्द्रिकृत गरेको छ र प्रशिक्षणमा उहाँहरुबाट सुन्नेमात्रै काम भयो । यसलाई मैले अत्यन्तै गम्भिर रुपमा लिएको छु ।’




प्रतिक्रिया