काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक केआर खम्बूद्धारा लिखित पुस्तकले आफ्नो विगत सम्झाएको बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्राध्यापक खम्बूद्धारा लिखित जीवनकथा ‘छायाँको लस्कर’ पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले खम्बूको पुस्तकले आफूलाई विगतका संघर्षशील दिनहरू सम्झना गराएको बताए ।
‘यो पुस्तकले मलाई आफ्नो विगतको सम्झना गरायो । म र खम्बू घाम र धूलो सँगसँगै खेपेका साथी हौं । यस पुस्तकले एउटा राजनैतिक आन्दोलनको कथा समेटेको छ ।’ प्रधानमन्त्रीले भने, ‘यो पुस्तकको नाम ‘छायाँको लस्कर’ छ । यहाँ अनुहारहरूको कुरा छैन छायाँको कुरा छ, किनभने खम्बूजीको स्मृतिमा अहिले अनुहारहरू होइनन् छायाँहरू छन् र उहाँले तपाईं हामी कसैलाई पनि वा खुद उनकी जीवनसाथी शुभलक्ष्मीलाई पनि छायाँको रुपमा मात्र महसुस गर्न सक्नु हुन्छ ।’
प्रधानमन्त्री ओलीले आफू भूमिगत हुँदा लेखकसँग निकट रहेको जानकारी गराउँदै केआर खम्बूसँगको संगत र निकटताका केही रोचक क्षणहरूको सम्झना गरे । प्राध्यापक खम्बू झापाको बामपन्थी आन्दोलनदेखि नै राजनीतिमा क्रियाशील बामपन्थी व्यक्तित्व हुन् । उनी झापा आन्दोलनताका प्रधानमन्त्री केपी ओली लगायतका नेताहरूसँग निकट रहेर काम गरेका राजनैतिक कर्मी पनि हुन् । पछिल्लो समयमा भने उनी प्राज्ञिक क्षेत्रमा क्रियाशील छन् ।




प्रतिक्रिया