काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने भएका छन् ।
दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुँदैछ ।
आज शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सम्पूर्ण तयारी पुरा भईसकेको खानेपानी मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले यसै आर्थिक वर्षभित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रम रहेकाले त्यो लक्ष्य पुरा भएको बताइन् ।
मन्त्री मगरले आउँदो असोज १३ गते नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुने जानकारी दिइन् । ‘नेपाल दक्षिण एसियाको पहिलो खुला दिसामुक्त राष्ट्र बन्नेछ ।’ मन्त्री मगरले भनिन्, ‘सुन्दा अचम्म लागेपनि यसको महत्व के हो भनेर बुझ्नु जरुरी छ । नेपाललाई खुला दिसामुक्त घोषणा गरिसकेपछि हामी पूर्ण सरसफाइको अभियान तर्फ अग्रसर हुनेछौं ।’
मन्त्री मगरले नेपालका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त घोषणा भइसकेको जानकारी गराइन् । उनले २०६८ सालमा सुरु भएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त क्षेत्र घोषणा अभियानले व्यापकता पाएर आज नेपाल नै खुला दिसामुक्त राष्ट्र हुने स्थितिमा पुगेको भन्दै खुसी व्यक्त गरिन् ।
‘हामीले २०६८ सालमा सुरु गरेको खुला दिसामुक्त मुलुक बनाउने अभियान सफल सावित भएको छ ।’ मन्त्री मगरले थप स्पष्ट पार्दै भनिन्, ‘यो अभियानमा सरकारको भन्दा नेपाली जनता र मिडियाको भूमिका धेरै छ । यो कुरा अरु देशका लागि पनि प्रेरणादायी हुन सक्छ ।’
कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले खुला दिसामुक्त अभियान स्वास्थ्यसँग जोडिएकाले यसको महत्वलाई सामान्यीकरण गर्न नहुने बताए । सचिव बेल्बासेले जनताको प्रत्यक्ष लगानीले नै यो अभियान सम्भव भएको स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालयहरु बनिसकेका छन् । ‘अहिले नेपालका करिब सबै घरधुरीहरुमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको छ । देशका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त भईसक्दा हामीले अपेक्षा गरेको लक्ष्य हासिल गरेका छौं ।’ सहसचिव रितेशकुमार शाक्यद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएलगत्तै त्यसको दुई दिन पछि छिमेकी मुलुक भारतले पनि आफूलाई खुला दिसामुक्त मुलुक घोषणा गर्न लागेको छ ।




प्रतिक्रिया