बैतडी – बैतडीको पाटन मेलौली सडकखण्डमा बस दुर्घटना भएको छ । शनिबार बिहान पाटन मेलौली सडक खण्डमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नम्बरको बस शनिबार बिहान ३ बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइतेमध्ये कञ्चनपुरको भिमदत्त नगरपालिकाका ३३ वर्षीया सीदेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड, ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान र गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साउद गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएकाे छ ।
गम्भीर भएका सातैजनालाई जिल्लाबाहिर रेफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको छ। बसका चालक फरार रहेका छन्। बसमा ३० जना यात्रु सवार रहेका थिए। बस सडकभन्दा १० मिटर तल खसेको छ।




प्रतिक्रिया