काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालमाथि आक्रमणको प्रयास भएको छ । तनंहुमा रिजालमाथी नेकपाका कार्यकर्ताद्धारा आक्रमण गर्न प्रयास भएको भन्दै कांग्रेसले घटनाको प्रतिकार गर्ने चेतावनी दिएको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ती जारी गर्दै नेकपाका कार्यकर्ताहरुले बाटोमा रुख ढालेर बाटो अवरुद्ध गरेको र खुकुरी, भाला, लाठी, ढुंगा, वियरका बोतल सहित मण्डले शैलीमा आक्रमण गर्न खोजेको भन्दै नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
कांग्रेसले रिसिंग गाउंपालिकाको भवनको शिलान्यास कार्यक्रममा जान लागेका डा रिजालको कार्यक्रमबारे प्रहरी प्रशासनलाई समयमै जानकारी गराउंदा पनि बेवास्ता भएको आरोप समेत लगाएको छ ।
कांग्रेसले फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र घोर निन्दनीय र आपत्तिजनक रहेको जनाएको छ । उसले सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले एकपछि अर्को घटनाहरु दोहोर्याउंदै व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै गईरहेको घटनाप्रति सतर्क रहन कांग्रेसले सबैलाई आग्रह गरेको छ ।




प्रतिक्रिया