काठमाडौं—अमेरिकाले नेपालमा मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) कार्यान्वयनका लागि सरकारलाई ५० अर्ब नेपाली रुपैयाँ दिने भएको छ ।
सहयोग कार्यान्वयनका लागि सोमबार अर्थमन्त्री डा. युवराज खतिवडा र मिलेनियम च्यालेन्ज कोअपरेसन कार्यान्वयन महाशाखाका उपाध्यक्ष एन्थोनी वेल्चरले संयुक्त हस्ताक्षर गरे। यो कार्यक्रम नेपालले सन् २०२० को जुन ३० बाट कार्यान्वयन गर्नेछ। उक्त रकम विद्युतको उपलब्धता र सडक सुधार लगायतका काममा खर्चिने सम्झौतामा उल्लेख छ।
विद्युत् प्रसारण लाइनरसबस्टेसन निर्माण र सडक सञ्जाल विस्तार गर्न अमेरिकाले नेपाललाई करिब ५२ अर्ब रुपैयाँ (५ सय मिलियन अमेरिकी डलर) सहयोग गर्ने भएको छ ।
अमेरिकी कंग्रेसले अल्पविकसित मुलुकलाई प्रत्यक्ष सहयोगका लागि भन्दै डेढ दशक अघि एमसीसी स्थापना गरेको थियो। एमसीसीले केही वर्षअघि नै नेपाललाई सूचीमा राख्दै सहयोग गर्ने प्रतिबद्धता सुरुमा व्यक्त गरेको थियो ।
कूटनीतिक पहल र एमसीसी नेपालका अधिकारीले विद्युत् प्रसारण लाइनरसबस्टेसन निर्माण र सडक सञ्जाल विस्तारको आधार प्रस्तुत गरेपछि अमेरिकाले सहयोग गरेको हो। सन् २०१४ डिसेम्बरमा अमेरिकाले नेपाललाई सहयोग ‘रोस्टर’ मा राखेरै विभिन्न क्षेत्रबारे अध्ययन र छलफल गरेको थियो।
विभिन्न क्षेत्रको अध्ययनपछि नेपाल सरकार र मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) बीचको छलफलबाट जनतामा पहुँच र गरिबी निवारणका लागि प्रसारण लाइन र सडक सञ्जाल विस्तार रोजिएको हो ।




प्रतिक्रिया