सेना एनडियू स्थापना गर्दै, शक्ति राष्ट्रहरुबीच एनडिसीको संख्या बढाउंने प्रतिस्पर्धा  

सेना एनडियू स्थापना गर्दै, शक्ति राष्ट्रहरुबीच एनडिसीको संख्या बढाउंने प्रतिस्पर्धा  

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले प्रतिरक्षा विश्वविद्यालय स्थापनाको तयारी गरेसंगै शक्ति राष्ट्रहरुले भने सेनालाई दिने एनडिसीको संख्या बढाउंदै लगेका छन् । सेनाले एनडियु स्थापनाको लागी काभ्रेमा जग्गा समेत हेरिसकेको छ । 

त्यसका साथै सरकारले नै प्रतिरक्षा विश्वविद्यालयका स्थापना गर्ने भन्दै बजेटमा समेत उल्लेख गरिसकेको छ । यता, एनडियू स्थापनाका लागी भारत,चीन र अमेरिकाले सहयोग गर्न लविङमा लागेका छन् । तर, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले एनडियू स्थापना गर्न कुनै पनि देशको सहयोग नलिने बताउंदै आएका छन् । 

सेनालाई आवश्यक पर्ने संख्या विभिन्न मुलुकले उपलव्ध गराउंदै आएको र एनडिसी गरेका सबैको वृद्धि विकासको सुनिश्चितता गर्न नसकेको भन्दै यस्को औचित्यमाथी पनि कतिपयले प्रश्न गर्दै आएका छन् ।

नेपाली सेनालाई अमेरिका,चीन, भारत र पाकिस्तान एनडिसीको संख्या बढाउने चाहना व्यक्त गरेको सैनिक स्रोतको दाबी छ ।  हाल नेपाली सेनालाई सबैभन्दा बढी चीनले एनडिसीको संख्या दिंदै आएको छ भने अमेरिका र पाकिस्तानले दुई\दुई जना,चीनले ४, भारत, बेलायत र बङगलादेशले १\१ जनाको संख्या उपलब्ध गराउंदै आएको छ । 

सेनामा सहायकरथीबाट उपरथी हुनको लागी एनडिसी कोर्स ५३ वर्ष उमेरभित्र गर्नुपर्ने अनिवार्य प्रावधान छ । करिव १ वर्षको उक्त कोर्सको लागी नेपाली सेनाले लामो समयदेखी उच्च सैनिक अधिकृतलाई विदेश पठाउंदै आएको छ । 

हाल सेनाका १२ जना अधिकृतहरु विभिन्न देशमा एनडिसीको कोर्स गरिरहेका छन् । सेनाले एनडिसीको लागी पहिलो पटक नाइजेरियामा आफैले खर्च ब्यहोर्ने गरी सहायरथी पठाएको छ । त्यसैगरी श्रीलङकासंग पनि एनडिसीको कोटा उपलव्ध गराउन सेनाले आग्रह गर्दै आएको छ । 

सेनालाई हाल १२ देखी १४ जना उच्च अधिकृतलाई एनडिसीमा पठाउनुपर्ने बाध्यता छ ।  हाल सेनाका सहायकरथीहरु चोकबहादुर ढकाल, विजय थापा,सुनील श्रेष्ठ महासेनानी नकुल रायमाझी चीनमा, सहायकरथीहरु सुरेन्द्र रावल र प्रेम पुन अमेरिकामा, महासेनानी कृष्ण जिसी बेलायत, सहायकरथी प्रेमध्वज अधिकारी अमेरिका, योगराज शर्मा र ध्रुव शाह बङगलादेश र यम सापकोटा नाइजेरियामा एनडिसी गर्दैछन् । 

सहायकरथीलाई मात्र एनडिसीमा पठाउंदै आएकोमा पछिल्लो सेनाले महासेनानीलाई समेत एनडिसीका लागी विभिन्न मुलुकमा पठाउंदै आएको छ ।  एनडिसीमा छनौट गर्दा वरियता र कार्यसम्पादनलाई सेनाले आधार बनाउंदै आएको छ । 

सैनिक स्रोतले दिएको जानकारीअनुसार सेनालाई अमेरिका,भारत र पाकिस्तानले अर्को बर्षबाट एक\एक जना बढाउन सक्ने चाहना व्यक्त गरिसकेको छ । चीनले पनि थप एक जनालाई एनडिसीको संख्या बढाउन सक्ने बताइसकेको छ । 

‘चीनले सेनामा एनिडसीको संख्या बढाएपछि भारत र अमेरिकाले पनि सेनालाई संख्या बढाउने चाहना व्यक्त गरेका छन् । एनडिसीको कोटा उपलव्ध गराउने कुरामा समेत सेनामा शक्तिराष्ट्रबीच प्रतिस्पर्धा छ ।’ सेनाका एक उच्च अधिकारीले भने । 

एनडियु स्थापनाका लागी सेनाले प्रक्रिया अघि बढाइरहेको बेला शक्तिशाली मुलुकहरुले नै एनडिसीको संख्या थप्ने चाहना व्यक्त गरेको सेनाका एक उपरथीले काठमाडौंपाटीलाई बताए । 

सेनाले स्थापना गर्न लागेको एनडियु अन्र्तगत एनडिसी, स्टाफ कलेजलगायतको कोर्स संचालन गर्नेछ । त्यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीले पनि यहींबाटै सिनियर तहको कोर्स गर्नेछन् ।