सीमामा शान्ति सुरक्षालाई मजबुत बनाउन नेपाल-भारतका सुरक्षाकर्मीबीच सहमति

सीमामा शान्ति सुरक्षालाई मजबुत बनाउन नेपाल-भारतका सुरक्षाकर्मीबीच सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भद्रपुर – झापासँग जोडिएको सीमावर्ती नाकामा दशैँ-तिहार र छठ चाडपर्व तथा भारतको किशनगञ्जमा हुने उप-निर्वाचनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा बनाउने विषयमा दुवै देशका सुरक्षा निकायबीच सहमति भएकाे छ।

भद्रपुर नाकासँग जोडिएको भारतको गलगलियास्थित भादगाउँ सशस्त्र प्रहरी बल (एसएसबी)को क्याम्पमा बसेको नेपाल–भारत सुरक्षा निकायको मासिक बैठकमा दुवै देशका सुरक्षा निकायका प्रमुखहरू सीमा सुरक्षाको विषयमा सहमत भएका हुन्।

सीमामा शान्ति सुरक्षालाई मजबुत बनाउन दुवै देशका सुरक्षाकर्मी संयुक्त रूपमा सीमा गस्ती गर्ने अभियानलाई समेत निरन्तरता दिनेमा उनीहरूले सहमति जनाएका छन्।

साथै भारतको विहार राज्य स्थित किशनगञ्ज जिल्लामा आउँदो अक्टोबर २१ तारिख अर्थात् कार्तिक ४ गते हुने विधानसभाको उपनिर्वाचनका लागि ४८ घण्टा बोर्डर सिल गर्न विषयमा समेत छलफल भएको थियो। बोर्डर सिल गरी निर्वाचन सुरक्षामा सहयोग पुर्‍याइदिन भारतीय सुरक्षा निकायका प्रमुखले नेपालका सुरक्षा प्रमुखसँग आग्रह गरेका थिए।

सुरक्षा बैठकमा प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली, सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सु, र एसएसबीका सर्किल अफिसर सुभाष नेगी, मितुलकुमार र जिसी पाण्डेय, पश्चिम बंगाल दार्जिलिङ जिल्लाका कर्सियाग एसडिपीओ पिनाक, किशनगञ्जका पदाधिकारीहरू डा. अखिलेश कुमार, ठाकुरगञ्जका सर्किल इन्स्पेक्टर अश्विनीकुमार, गलगलिया थाना अध्यक्ष तरुण तरुगेश लगायतको उपस्थिति रहेको थियो।