गोरखा – भारतीय सेनामा कार्यरत पर्वतका अनिष थापामगर यो वर्षको लिगलिगे दौडको विजेता बनेका छन् ।यसअघि चार पटकसम्म लिगलिगे राजा बन्न सफल पर्वतका अनिश बिहीबार भएको दशौँ लिगलिगे दौड जितेर चौंथो पटक पनि राजा बन्न सफल भएका हुन् ।
यसअघि अनिष २०७१, ०७३ र ०७५ मा पनि पहिलो भएका थिए । चेपे र मर्स्याङ्दी नदिको दोभानबाट लिगलिगकोटसम्मको १३ दशमलव ८ किलोमिटर दुरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै थापा लिगलिगे दौड जितेर लिगलिगे राजा बन्न सफल भएका हुन् । दौडेर लिगलिगको राजा हुने परम्परालाई उजागर गर्न २०६७ सालदेखि लिगलिगे दौड हुँदै आएको छ ।
दौडका विजेतालाई राजाका रुपमा एक रात लिगलिगकोटमा राख्ने गरिन्छ । लिगलिगे दौडमा प्रथम हुनेलाई यस वर्षदेखि एक दिनका लागि लिगलिगे राजाका साथै एकवर्षका लागि पालुङ्टार नगरपालिकाको पर्यटन सद्भावना दूत पनि घोषणा गरिएको छ ।
यही दुरी १ घण्टा एक मिनेट ८ सेकेण्डमा पार गरी डोटीका खगेन्द्रबहादुर भाट दोस्रो र एकघण्टा एक मिनेट ३४ सेकेण्डमा पार गरी लम्जुङका रामजी बस्नेत तेस्रो भएका छन् । पालुङ्टार नगरपालिका, लिगलिगकोट विकास अभियान र रणसिंह दल गणको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो ।




प्रतिक्रिया